साझेदारी गर्नुहोस्

काठमाडौं: खाेटाङ जिल्लाकाे दिक्तेल रुपाकोट मजुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई मर्यादामा बस्न आग्रह गरेका छन् ।

पछिल्लो समय बालेन र हर्कबीच देखिएको कटाक्ष र टिक्का टिप्पणीले स्थानीय जनप्रतिनिधिको शिर निहुरिएको भट्टराईले बताएका हुन् ।

“भदौ २३ र २४ गते जेन्जीले भष्ट्राचार नियन्त्रण लगायत माग राखेर गरेको आन्दोलनका क्रममा तत्कालीन सत्तारूढ दलको बहिर्गमन र सुशीला कार्कीको नेतृत्वमा सरकार गठन गर्ने प्रक्रियादेखि नै चर्चामा रहेका दुई मेयर बालेन र हर्कको अभिमान र गतिविधिले हामी समग्र जनप्रतिनिधीको शिर निहुरिने काम भएको छ,” उनले लेखेका छन्, “अहिले देश आहत भएको छ । … ७५३ वटा स्थानीय सरकारमा हामीसँगै एउटै समयमा निर्वाचित हुनुभएको नगरप्रमुख बालेन र हर्क भने सामाजिक संजालबाट भाले जुधाई खेलेर स्थानीय सरकारको गरिमालाई आँच पुर्‍याइरहनु भएको छ ।”

यस्तै अभिमान र अमर्यादित चरित्र प्रदर्शन गरिरहे देशभरका मेयरले नागरिकबाट समेत तिरस्कार हुने अवस्था आउने उनको गुनासो छ ।

“एउटाले बिगार्ने शाखा सन्तान पिरोल्नेझैँ भएको छ । त्यसैले बालेन र हर्कलाई एकापसमा कटाक्ष गरेर होइन, अपहेलित र अपमानित भएर होइन हातेमालो गरेर अघि बढ्नुस्,” उनले लेखेका छन्, “सम्मान र सद्भाव बढाउनुस् ।”