साझेदारी गर्नुहोस्

हमासको सशस्त्र सैन्य शाखा ‘इजुद्दिन अल–कस्साम ब्रिगेड्स’ले शनिबार आफ्नो टेलिग्राम च्यानलमार्फत गाजामा रहेका ४८ जना बन्दीहरूको तस्बिर सार्वजनिक गरेको छ। जसमा नेपालका विपिन जोशीको तस्वीर पनि राखिएको छ । ती तस्बिरमा जीवित र मृत दुवैलाई समावेश गरिएको छ।

हमासले जारी गरेको विज्ञप्तीमा इजरायलको निरन्तर स्थलगत र हवाई आक्रमणका कारण बन्दीहरूको जीवन संकटमा परेको दाबी गरिएको छ।सार्वजनिक तस्बिरमा जीवित र मृत दुवै बन्दीहरूलाई ‘रोन अराड’ शीर्षकमा देखाइएको थियो। यो नाम १९८६ मा लेबनानमा हराएका इजरायली वायुसेनाका एक अधिकारीसँग जोडिएको मानिन्छ।

इजरायली अधिकारीहरूले अझै करिब २० जना बन्दी जिउँदै गाजामा रहेको विश्वास व्यक्त गरेका छन्। तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जीवितहरूको संख्या अझै कम हुन सक्ने बताएका छन्।

हमासले सार्वजनिक गरेको तस्वीरसँगै लेखिएको छ- ‘नेतान्याहुको अस्वीकार र जामिरको आत्मसमर्पणका कारण गाजा सहरमा सैन्य कारबाही सुरु भइरहेका बेला एउटा बिदाइ तस्बिर।’

त्यसले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गाजामा भएको नरसंहारकारी युद्ध अन्त्य गर्न हमाससँग सम्झौता गर्न गरेको अस्वीकार तथा इजरायली सेनाप्रमुख एयाल जामिरको नेतृत्वमा भइरहेको स्थल तथा हवाई आक्रमणतर्फ संकेत गरेको अलजजिराको भनाइ छ।