साझेदारी गर्नुहोस्

‘जेन–जी’ आन्दोलनका क्रममा देशभर ठूलो मानवीय र भौतिक क्षति भएको छ । सरकारीदेखि निजी सम्पत्तिमा तोडफोड र आगजनी भएको घटनाले निर्जीवन बीमा कम्पनीहरूमा अहिलेसम्म करिब २१ अर्ब रुपियाँको बीमा दाबी परेको छ । नेपाल बीमा प्रँधिकरणका अनुसार भदौ ३१ गतेसम्म १८ बीमा कम्पनीमा २० अर्ब ७० करोड ३८ लाख रुपियाँ बराबरको १ हजार ९८४ दाबी दर्ता भएका छन् ।

उक्त बीमा दाबीमध्ये १४ निर्जीवन बीमा र चारवटा लघु बीमा कम्पनी रहेका छन् । अहिले सबैभन्दा बढी दाबी रकम दि ओरियण्टल इन्स्योरेन्स कम्पनीमा परेको छ । कम्पनीमा ४० वटा बीमा पोलिसी बापत ५ अर्ब १४ करोड ७९ लाख रुपियाँ दाबी दर्ता भएको छ । सो कम्पनीमा नक्सालस्थित हिल्टन होटलको बीमा भएकाले रकम उच्च देखिएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार हाल दर्ता भएको सबै दाबी बीमितले दिएको प्रारम्भिक अनुमान हो । बीमा सर्वेयरले क्षतिको मूल्यांकन गरेपछि मात्र वास्तविक भुक्तानी योग्य रकम टुंगो लाग्नेछ ।आन्दोलनबाट उत्पन्न क्षतिबापतको ६५ प्रतिशत बीमा दाबी रकम नेपाल पुनर्बीमा कम्पनीले व्यहोर्नेछ । बाँकी ३५ प्रतिशत सम्बन्धित बीमा कम्पनीले नै तिर्नुपर्नेछ । तर, १० करोडभन्दा माथि ६ अर्बसम्मको दाबीमा भने बीमा कम्पनीले पूर्ण भुक्तानी गर्नुपर्ने प्रावधान छ । नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदीका अनुसार यो तथ्यांक प्रारम्भिक मात्र हो र आगामी दिनमा अझै वृद्धि हुनसक्छ ।