साझेदारी गर्नुहोस्

मुलुकमा विकसित पछिल्लो घटनाक्रमपछि नेपाली सेनाको सहजीकरणमा नयाँ सरकार गठनको पहल भइरहेका बेला नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले जेन–जी पुस्ताको भावनाअनुसार सरकार गठन गरिनुपर्ने बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुकबाट बिहीबार १५ मिनेट लामो भिडियो सन्देश जारी गर्दै उनले पछिल्लो परिवर्तनको संवाहक जेन–जी पुस्ताको भावनाअनुसार सरकार बनाउनु पर्ने बताएका हुन् ।

‘अब कसरी अगाडि बढ्ने भन्ने कुरा तपाईंहरूको भावनाअनुसार सरकार बनाउने कुरा ठीक छ । त्यो सरकारले काम गरोस्, त्यही नै बाटोमा जाने हो,’ महामन्त्री थापाले जेन–जी पुस्तालाई सम्बोधन गर्दै भनेका छन् ।

महामन्त्री थापाले जेन–जी पुस्तालाई नयाँ सरकार गठन भने संविधानमा टेकेर गर्नसमेत आग्रह गरेका छन् । सन्तुलन मिलाएर बनाइएको संविधानले दिएका अधिकार कटौती गरेर अगाडि बढे भोलिका दिनमा सम्हाल्न नसक्ने अवस्था सिर्जना हुन सक्नेतर्फ उनले सचेत गराएका छन् ।