साझेदारी गर्नुहोस्

काठमाडौँ — कोरोना माहामारी नियन्त्रणका लागि अन्तर्राष्ट्रिय उडानमा रोक लगाइएअको थियो भने भदौ १६ देखि खुला गर्ने सरकारको बिहीबारको निर्णयसँगै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मंगलबार एक महिना (सेप्टेम्बर )को उडान तालिका जारी गरेको जनाएको छ ।मन्त्रालयका अनुसार, सेप्टेम्बर १ (भदौ १६) देखि सेप्टेम्बर ३० (असोज १४) सम्मको एक महिनामा ६० वटा नियमित उडान हुने भएका छन् भने २७ वटा चार्टर उडान हुने छन् ।

यो एक महिनाको अवधिमा १० वटा विदेशी र दुईटा नेपाली गरी १२ वटा वायुसेवाले ६० वटा उडान गर्ने छन् । सरकारले दैनिक ५ सयसम्म मात्रै यात्रु ल्याउन दिने कोटा तोकेकाले यो तालिका हेरफेर हुन सक्ने मन्त्रालयका एक अधिकारीले बताए ।
कोरोना भाइरस माहामारी कायमै भएकाबेला सरकारले तोकेका नियम तथा शर्तहरु पालना गराउँदै उडान गराउन निर्देशन दिएको हो ।
त्यसैगरी मन्त्रालयले कोरोना भाइरस को जाँच सरल नभएका मुलुकबाट नियमित उडान खुला नगरेको जनाएको छ। तर, ती मुलुकमा अलपत्र परेका नेपाली ल्याउन एक महिनामा २७ वटा चार्टर उडान गर्न अनुमति दिएको छ । चार्टर उडान हुने गन्तव्यमा माल्दिभ्स, दोहा, कुवेत, जेद्दा, दमाम र रियाद छन् । यी गन्तव्यबाट नेपाल वायुसेवा निगम, हिमालय एयरलायन्स, कतार एयरवेज, जजिरा एयर, र सलाम एयरले चार्टर उडान गर्ने छन् ।
त्यसैगरी मन्त्रालयले नियमित तथा चार्टर उडानबाट नेपालमा भएका सबै दूतावासका कर्मचारी, संयुक्त राष्ट्र संघका १८ वटा एजेन्सी र नेपालमा काम गरिरहेका १५ वटा विकास साझेदार संस्थाका कर्मचारी तथा प्रतिनिधिलाई पनि आउन दिन भनेको छ ।