साझेदारी गर्नुहोस्

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अस्ट्रेलिया उडान हुने भएको छ। चीनको सिचुवान एयरलाइन्सले छेन्दु हुँदै अष्ट्रलिया उडान गर्ने तयारी गरेको हो। उक्त प्रयोजनका निम्ति सिचुवान एयरलाइन्सले नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणसँग अनुमति मागेको छ।

प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलका अनुसार सिचुवान एयरलाइन्सले छेन्दु हुँदै अस्ट्रेलिया उडानको अनुमति मागेको हो। उडान अनुमतिका लागि अनौपचारिक छलफल भएको र आवश्यक प्रक्रिया पूरा गरेर अनुमति दिने तयारी गरिएको उनले बताए।

आगामी सेप्टेम्बर महिनाबाट उडान गर्ने कम्पनीको योजना रहेको छ। “सिचुवान एयरलाइन्सले पोखराबाट अस्ट्रेलिया उडान गर्ने योजना बनाएको छ। पोखराबाट छेन्दु हुँदै अस्ट्रेलिया उडान गर्नेबारे अनौपचारिक कुराकानी भएको छ। औपचारिक रूपमा प्रक्रिया टुङ्ग्याउने विषयमा द्विपक्षीय छलफलमा भइरहेको छ। छिट्टै उडानको तालिका सम्बन्धित वायुसेवाबाट पेस होला”, सूचना अधिकारी भूलले भने।