साझेदारी गर्नुहोस्

सवारी साधनमा असोज एक गतेदेखि अनिवार्य इम्बोस्ड नम्बर जडान गर्ने सरकारको निर्णयलाई यातायात व्यावासायीहरूले विरोध गरेका छन् । सार्वजनिक यातायात कन्द्रीय महासंघ नेपालले सरकारको यो निर्णय अविस्कार गर्ने घोषणा गरेको छ ।

सरकारले जबरजस्ती इम्बोस्ड प्लेट जडान गर्न खोजे विरोध हुने र त्यसपछि हुने थप गतिविधि प्रति स्वयम भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय जिम्मेवार हुने महासंघले चेतावनी दिएको छ ।

महासंघका महासचिव भरत नेपालले सोमबार विज्ञप्ति निकाल्दै इम्बोस्ड नम्बर जडान गर्ने सरकारको निर्णयमा संशोधन र सुधार नगरेसम्म सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान नगर्न आग्रह गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ- ‘सरोकार पक्षबीचको छलफल संम्वादका क्रममा देखिएका अव्यवहारिक विषयको संशोधन र सुधार नभइ सार्वजनिक, पर्यटन, ढुवानी, निजीलगायत सबै यातायात क्षेत्रको तर्फबाट इम्बोस्ड नम्बर प्लेट जडान नगर्न अनुरोध छ ।’

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मातहतको यातायात व्यवस्था विभागले गत भदौ ३ गते निकालेको सूचनामा नेपालको पान्डु लिपी नेपाली भाषा नै लोभ हुने, राष्ट्रिय स्वाभिमान र राष्ट्रमाथि नै आँच आउने गरी इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्न खोजिएको यातायात व्यवासायीको भनाइ छ । भदौ ३ गते विभागबाट जारी गरिएको सूचनामा आगामि असोज १ गतेदेखि सार्वजनिक, पर्यटन र ढुवानी यातायातका सवारी साधनमासमेत अनिवार्य जडान गर्न परिपत्र गरिएको छ ।