काठमाडौं, भदौ ७ –

जननेता मदन भण्डारी र जीवराज आश्रितको नाममा स्थापित मदन आश्रित स्मृति प्रतिष्ठानको बैठक सम्पन्न भएको छ । शनिबार काठमाडौँको गोठाटारमा प्रतिष्ठानका अध्यक्ष तथा नेकपा (एमाले)का वरिष्ठ नेता प्रदीप कुमार ज्ञवालीको अध्यक्षतामा सम्पन्न उक्त बैठकले शिक्षा, स्वास्थ्य, सामाजिक योगदान र संस्थागत सुदृढीकरणलाई मुख्य एजेन्डा बनाएर १० बुँदे निर्णय पारित गरेको छ।
बैठकले नयाँ विद्यार्थी भर्ना प्रक्रियालाई पारदर्शी र प्रतिस्पर्धी बनाउन विशेष कार्यविधि तयार गर्ने निर्णय गरेको छ भने उच्च शिक्षा प्रवर्द्धनका लागि त्रिभुवन विश्वविद्यालय र मदन भण्डारी उच्च माध्यमिक विद्यालयसँग सहकार्य गर्दै अनुसन्धान र गुणस्तरीय शिक्षामा जोड दिने योजना अघि सारेको छ।

यस्तै प्रतिष्ठानका गतिविधिलाई प्रभावकारी बनाउन विभिन्न प्रदेश र जिल्लामा शाखा कार्यालय विस्तार गर्ने र प्रतिष्ठानहरुसँग नियमित अन्तरक्रिया कार्यक्रम सञ्चालन गरी बौद्धिक बहस तथा नीतिगत संवादलाई सशक्त बनाउने तयारी पनि बैठकले गरेको छ।
स्वास्थ्य क्षेत्रमा योगदान पुर्याउने उद्देश्यले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग सहकार्य गर्दै आवश्यक कार्यक्रम सञ्चालन गर्ने, संस्थाको गतिविधि र अनुसन्धानलाई प्रकाशमा ल्याउन नियमित मुखपत्र प्रकाशन गर्ने र सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ्य तथा शैक्षिक क्षेत्रमा प्रयोग हुने उपकरण खरिदका लागि ३० लाख रुपैयाँ विनियोजन गर्ने निर्णय पनि यसै बैठकले गरेको छ।

यस्तै , शिक्षा, स्वास्थ्य, सुशासन र सामाजिक न्यायका क्षेत्रमा योगदान पुर्याउन विषय विज्ञहरुको विशेष समूह (Thematic Group) निर्माण गर्ने र प्रतिष्ठानसँग सम्बन्धित सम्पत्ति, संरचना र साझेदार संस्थाहरुको व्यवस्थित अभिलेख तयार गर्ने योजनामा समेत बैठकले सहमति जनाएको छ।

आर्थिक पारदर्शिता र संस्थागत सुशासनलाई अझ प्रभावकारी बनाउन खाताहरु व्यवस्थित ढंगले सञ्चालन गर्ने र विविध विषयमा आवश्यक निर्णय गर्ने निष्कर्ष पनि बैठकले निकालेको छ।
बैठकपछि अध्यक्ष प्रदीप ज्ञवालीले प्रतिष्ठानका गतिविधिलाई राष्ट्रिय स्तरको नमुना बनाउनका लागि आजका निर्णयहरू ऐतिहासिक बन्ने उल्लेख गर्दै शिक्षा, स्वास्थ्य र सामाजिक योगदानलाई व्यवस्थित संस्थागत रूपमै अघि बढाउन प्रतिबद्धता व्यक्त गरे ।

उनका अनुसार आगामी दिनमा प्रतिष्ठानले ग्रामीण क्षेत्रमा छात्रवृत्ति कार्यक्रम सञ्चालन गर्ने, युवालाई नेतृत्व विकासका तालिम दिने, भ्रष्टाचारविरुद्ध जनचेतना अभियान सञ्चालन गर्ने र अन्तर्राष्ट्रिय सहकार्य विस्तार गर्ने दीर्घकालीन लक्ष्य लिएको छ।
यो बैठकलाई प्रतिष्ठानका पदाधिकारीहरुले रणनीतिक मार्गचित्रको रुपमा लिएका छन् र यसबाट निस्किएका निर्णयले संस्थाको भावी कार्ययात्रामा दूरगामी प्रभाव पार्ने विश्वास व्यक्त गरेका छन्।























