नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डप्रति लक्षित गर्दै शेषनागले पृथ्वी बोक्ने कुरा दन्त्य कथा भइसकेको भन्दै कटाक्ष गरेका छन् ।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रचण्डमाथि प्रहार गरेका हुन् । शेषनागले पृथ्वी कहीँ पनि नबोकेको जिकिर गर्दै उनले शेषनाग हल्लिँदा भूकम्प आउँछ भन्ने नसोच्न आग्रह गरे ।
आज विज्ञानले पृथ्वी किन हल्लिन्छ भन्दै अर्को पुष्टि गरिसकेको उनको भनाइ थियो ।
‘शेषनागले कहीँ पृथ्वी बोकेको पनि छैन । शेषनागले पृथ्वी बोकेको पनि हुँदैन । त्यो त दन्त्य कथा हो । शेषनागले पृथ्वी बोकेको छ,’ शर्माले भने, ‘त्यसले यसो हल्लाइदियो भने भूकम्प आउँछ भन्ने त दन्त्य कथा हो । आज त विज्ञानले अर्कै पुष्टि गरिसक्यो । त्यसकारणले यो पृथ्वी चल्छ, केही ढल्दैन ।’
प्रचण्डले एउटा कार्यक्रममा आफूले नेतृत्व छोडे धेरै कुरा गर्ल्र्यामगुर्लुम ढल्छ भनेपछि शर्माको यो प्रतिक्रिया आएको हो ।
शर्माले संविधानमा उपलब्ध प्रगति गरेको भएपनि जनताले उपभोग गर्न जनताले पाउने अवस्था सिर्जना गर्न चुकेको बताए।
उनले थपे, ‘मैले गरेको प्रश्न म आफैँलाई हो। तर मैले आफैँलाई गरेको प्रश्नले अरू तर्सिन्छन् र पो गाह्रो छ। संविधानका धाराहरूले पानामा लेखेका कुराहरू नै उपयोग गर्नेतिर किन जान सकेनौँ।’






















