सर्वोच्च अदालतले गौर हत्याकाण्डको मुद्दा अगाडि बढाउन परमादेश जारी गरेको छ । न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेयको इजलासले यो परमादेश जारी गरेको हो ।
यो आदेशसँगै २७ जनाको ज्यान गएको १९ वर्ष पुरानो गौर हत्याकाण्डको अनुसन्धान तथा अभियोजनको प्रक्रिया बढ्ने भएको छ।
२०६३ चैत ७ गते रौतहटको गौरमा उपेँन्द्र यादव नेतृत्वको तत्कालीन मधेसी जनअधिकार फोरम र तत्कालीन नेकपा माओवादीका कार्यकर्ताबीच झडप हुँदा २७ जना माओवादी कार्यकर्ता मारिएका थिए।
राष्ट्रिय मानव अधिकार आयोगले १३० जनाविरूद्ध मुद्दा चलाउन सिफारिस गरिसकेको छ। तीमध्ये ६६ जनाविरूद्ध यसअघि नै जाहेरी परिसकेको छ भने बाँकीको नाम जाँबुझ आयोगले किटान गरेको छ।
तत्कालीन मधेशी जनअधिकार फोरमका अध्यक्ष समेत रहेका हाल जसपा अध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादवमाथि समेत अनुसन्धान माग गर्दै माओवादी कार्यकर्ता साहले रिट दायर गरेका थिए । प्रभु साहसमेतले गौर हत्याकाण्ड उपेन्द्र यादवले गराएको आरोप लगाउँदै आएका छन् ।






















