काठमाडौँ, सोमबार — प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सोमबार पार्टी केन्द्रीय कार्यालय, च्यासलमा आयोजित विशेष समारोहमार्फत मदन–आश्रित स्मृति प्रतिष्ठानको नवनिर्वाचित अध्यक्ष प्रदीपकुमार ज्ञवाली र कार्यसमिति सदस्यहरूलाई शपथ ग्रहण गराएका छन्।

कार्यक्रममा प्रतिष्ठानका प्रमुख संरक्षक समेत रहेका अध्यक्ष ओलीले प्रतिष्ठान तथा पार्टीसँग सम्बन्धित फाउण्डेशनहरू व्यक्तिगत स्वार्थका लागि नभई पार्टीको आन्दोलन र जनहितका लागि समर्पित हुनुपर्नेमा जोड दिए। उनले दिवंगत नेता मदनकुमार भण्डारी र जीवराज आश्रितको आदर्शलाई स्मरण गर्दै, जनताको बहुदलीय जनवाद (जबज)को विचारलाई निरन्तर अगाडि बढाउनु प्रतिष्ठानको प्रमुख दायित्व भएको स्पष्ट पारे।

शपथपछि नवनिर्वाचित अध्यक्ष प्रदीपकुमार ज्ञवालीले आफ्नो नेतृत्वमा प्रतिष्ठानलाई पारदर्शी, योजनाबद्ध र उद्देश्यप्रति निष्ठावान् बनाउने दृढता व्यक्त गरे। उनले भने— “यो प्रतिष्ठान केवल स्मृति मात्र होइन, यो हाम्रो आन्दोलनको वैचारिक धरोहर हो। यसलाई जनसेवा, चेतना अभिवृद्धि र वैचारिक प्रगतिमा अग्रसर बनाउने मेरो पहिलो प्राथमिकता हुनेछ। यस यात्रामा सबै सदस्यको सक्रिय साथ आवश्यक छ।”

कार्यक्रममा कार्यवाहक अध्यक्ष रामेश्वर फुयालले विगतका क्रियाकलाप, उपलब्धि र भविष्यको दृष्टिकोणबारे जानकारी दिँदै, प्रदीपकुमार ज्ञवालीको नेतृत्वको खुलेर प्रशंसा गरे। उनले भने— “ज्ञवालीजी इमानदार, अनुभवी र आन्दोलनप्रति समर्पित व्यक्तित्व हुनुहुन्छ। उहाँको नेतृत्वमा प्रतिष्ठान नयाँ धार र दिशा पाउनेछ भन्नेमा म पूर्ण विश्वास राख्छु।”
शपथपछि अध्यक्ष ज्ञवाली मदन–आश्रित स्मृति बहुप्राविधिक संस्थान पुगे, जहाँ कार्यवाहक अध्यक्ष रामेश्वर फुयालले औपचारिक रूपमा जिम्मेवारी हस्तान्तरण गरे। पदभार सम्हाल्दै ज्ञवालीले संस्थानलाई आधुनिक प्रविधि, गुणस्तरीय तालिम र व्यावहारिक सीप विकासका क्षेत्रमा नयाँ ढंगले अघि बढाउने योजना सार्वजनिक गरे। उनले भने— “यस संस्थानलाई प्रविधि र दक्ष जनशक्ति उत्पादनको उत्कृष्ट केन्द्र बनाउनेछु। यसका लागि सबै सदस्यको सक्रिय सहकार्य अपरिहार्य छ।”
ज्ञवालीको नेतृत्वलाई प्रतिष्ठान र संस्थानका सबै सदस्यहरूले खुलेर स्वागत गरेका छन्। कार्यक्रममा उपस्थित सदस्यहरूले उहाँको राजनीतिक अनुभव, संगठनात्मक क्षमता र ईमानदार व्यक्तित्वका कारण भविष्यमा दुवै संस्थाले उल्लेखनीय प्रगति गर्ने विश्वास व्यक्त गरे। वातावरणमा उत्साह र एकताका भावनाले विशेष चमक भरेको देखिन्थ्यो। जहाँ मदन–आश्रित स्मृति बहुप्राविधिक संस्थानले हासिल गरेका उपलब्धिहरु समेत देखाइएको थियो ।

कार्यक्रमको अन्त्यमा अध्यक्ष ज्ञवाली, कार्यवाहक अध्यक्ष फुयाल सहित उपस्थित नेतागण र सदस्यहरूले मदनकुमार भण्डारी र जीवराज आश्रितको शालिकमा माल्यार्पण गर्दै श्रद्धाञ्जली अर्पण गरे। यो क्षणले उपस्थित सबैलाई इतिहासको गौरवपूर्ण स्मरण र भविष्यप्रतिको जिम्मेवारीबोध गरायो।
गत वैशाख २३ गते तत्कालीन अध्यक्ष प्रदीप नेपालको निधन भएपछि, यही साउन २३ गते सम्पन्न ३१औँ साधारणसभाबाट एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवाली प्रतिष्ठानको अध्यक्षमा निर्वाचित भएका हुन्। उक्त कार्यसमितिमा रामेश्वर फुयाल – उपाध्यक्ष, मधु तिमिल्सिना – सचिव, सरोज दाहाल – कोषाध्यक्ष, विदुर प्रसाद ढुंगाना – सदस्य, कृष्णहरि थापा – सदस्य, श्रीकृष्ण चापागाई – सदस्य, सुदर्शन चापागाई – सदस्य, सुरेश प्रसाद निरौला – सदस्य, दिव्या कुमारी घिमिरे – सदस्य, सुरेश प्रसाद चापागाई – सदस्य छन् ।


























