साझेदारी गर्नुहोस्

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले गाजा क्षेत्रलाई पूर्ण रूपमा कब्जा गर्ने निर्णय गरेको इजरायली सञ्चारमाध्यमहरूले जनाएका छन् ।

यससँगै इजरायलको सेनाले गाजाको सम्पूर्ण क्षेत्रमा आफ्नो सैन्य कारबाही विस्तार गर्ने तयारी गरेको छ । इजरायली सेनाले प्यालेस्टाइनी लडाकु समूह हमासले बन्धक बनाएका बन्दी रहेका स्थानसम्म सैन्य कारवाही सञ्चालन गर्ने तयारी थालेको अल जजीराले उल्लेख गरेको छ ।

इजरायलको प्रधानमन्त्री कार्यालयका एक वरिष्ठ अधिकारीलाई उद्धृत गर्दै इजरायलको च्यानल–१२ ले जनाएअनुसार यसबारे निर्णय भइसकेको छ ।

‘हमासले पूर्ण आत्मसमर्पण नगरेसम्म बन्धकहरूलाई छोड्ने छैन र हामी पनि समर्पण गर्ने छैनौं । यदि हामीले अहिले कारबाही गरेनौं भने, बन्धकहरू भोकले मर्नेछन् र गाजा हमासकै नियन्त्रणमा रहनेछ ।’’ ती अधिकारीलाई उद्धृत गर्दै च्यानल–१२ ले जनाएको छ ।

यो निर्णय मंगलबार इजरायलको युद्ध मन्त्रिपरिषद्को बैठकमा औपचारिक रूपमा छलफल हुने अपेक्षा गरिएको छ ।

इजरायलले जारी राखेको सैन्य कारवाहीका कारण गाजाको मानवीय अवस्था निकै बिग्रिएको छ । गाजामा खाद्यान्न र अन्य आधारभूत आवश्यकताहरूको अभावका कारण धेरै प्यालेस्टाइनीहरू भोकमरी र रोगको चपेटामा परेका छन् ।