नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीलाई पदबाट हटाएको छ। पार्टीको अनुशासन समितिको निर्णयअनुसार अध्यक्षबाट हटाइएको जानकारी मंगलबार निर्वाचन आयोगमा पत्र दर्ता गरेर गराइएको हो।
नाउपाका अनुसार अध्यक्ष श्रेष्ठले विधानविपरीत ढंगले कार्यवाहक अध्यक्ष तोकेकाले उनलाई पदमुक्त गरिएको हो। पोखराको चर्चित लिचीबारी घुसकाण्डमा मुछिएपछि श्रेष्ठले पोखराकै शिव बास्तोलालाई कार्यवाहक अध्यक्ष तोकेको थिइन्, जसप्रति पार्टीभित्रै तीव्र असन्तोष देखिएको थियो।
यसको पछि अनुशासन समितिले रामलाल डगौराको संयोजकत्वमा बैठक बोलाएर रञ्जितालाई २४ घण्टाभित्र स्पष्टीकरण दिन निर्देशन दिएको थियो। तर श्रेष्ठले तोकिएको समयभित्र कुनै जवाफ नदिएपछि उनलाई पदमुक्त गरिएको पार्टीले जनाएको छ।
पार्टीको अनुशासन समितिमा रामलाल डगौरासँगै सुनिता चौधरी र पुण्य बुढा सदस्य छन्। समितिको निर्णयलाई अब मध्यबानेश्वरमा जारी पार्टीको राष्ट्रिय भेलाले अनुमोदन गर्नेछ।






















