अहान पाण्डे र अनीत पड्डा अभिनीत बलिउड फिल्म ‘सैयारा’ ले आक्रामक कमाइ गरिरहेको छ। यस फिल्मले प्रदर्शनको १२औँ दिनसम्म भारतमा २ सय करोड ६६ लाख भारतीय रुपैयाँ नेट कलेक्सन गरेको छ।
त्यस्तै, भारतभरको ग्रस कलेक्सन भने ३१९ करोड ७५ लाख भारु पुगिसकेको छ। ४५ करोड बजेटमा निर्माण भएको यस फिल्मले विश्वभर भने ४०९ करोड कमाइसकेको छ।
पहिलो साता फिल्मले भारतभर १ सय ७२ करोड ७५ लाख भारतीय रुपैयाँको व्यापार गरेको थियो। दोस्रो हप्तामा पनि व्यापारको रफ्तार रोकिएको छैन। दोस्रो हप्तामा प्रवेश गरेसँगै गत शुक्रबार फिल्मले १८ करोड भारु कलेक्सन गर्यो। शनिबार २६.५ करोड कमाउँदा आइतबार विदाको दिन ३० करोडको व्यापार गर्यो। सोमबार ९.२५ करोड कमाइ गर्दा मंगलबार १० करोड भारुको आकंडा पार गरेको छ।
यो फिल्म सन् २०२५ मा यसवर्षकै उत्कृष्ट फिल्म मात्रै नभई नयाँ कलाकार अभिनीत सबैभन्दा धेरै कमाउने हिन्दी फिल्म पनि हो। यशराज फिल्म्सको ब्यानरमा बनेको यस फिल्मलाई मोहित सुरीले निर्देशन गरेका हुन्। अहान र अनीतको अभिनयको पनि निकै तारिफ भइरहेको छ।























