साझेदारी गर्नुहोस्

काठमाडौं – गायिका पुजन काफ्लेले तीजको अवसरमा नयाँ गीत ‘छड्के तिलहरी’ आफ्नो आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरेकी छिन्। गीतमा शब्द, संगीत र स्वर स्वयं गायिकाकै रहेको छ भने संगीत संयोजन आदेश ग्रुमाछनले गरेका छन्। यसले गीतलाई अझ जीवन्त बनाएको छ।

गीतले गहनाले महिलाको सौन्दर्य र खुशीलाई कसरी प्रतिनिधित्व गर्छ भन्ने भावलाई उत्कृष्ट रूपमा प्रस्तुत गरेको छ। तीजमा महिला दिदीबहिनीहरू मिलेर नाच्ने, गाउने, एक आपसमा भेटघाट गर्ने परम्परागत संस्कृतिलाई गीतले उजागर गरेको छ।

गायिका पुजन काफ्ले: बहुमुखी प्रतिभा र स्वरको मधुरता

पुजन काफ्ले नेपाली संगीत क्षेत्रको एक पहिचान बनिसकेकी गायिका हुन्। मधुर स्वर, भावपूर्ण गायनशैली र सांगीतिक सिर्जनामा बहुमुखी प्रतिभा उनको विशेषता हो। उनले विगतका वर्षहरूमा पनि तीजलगायतका विभिन्न अवसरमा दर्जनौं लोकप्रिय गीतहरू प्रस्तुत गरेकी छिन्।

सिर्फ गायन मात्र नभई गीत लेखन र संगीत सिर्जनामा समेत सक्रिय काफ्लेका गीतहरूमा मौलिक शब्द, नेपाली संस्कृति र समसामयिक भावनाहरूको सशक्त संयोजन पाइन्छ। उनले दर्शक–श्रोताको मनमा आफ्नो स्वरको मिठासले गहिरो छाप छोड्दै आएकी छिन्।

गीत ‘छड्के तिलहरी’को सांगीतिक सौन्दर्य

गीत ‘छड्के तिलहरी’मा गहनाको महत्व र महिलाहरूको जीवनमा त्यसको भावनात्मक जोडलाई गहिरो रूपमा प्रस्तुत गरिएको छ। गीतले तीज पर्वमा हुने सामूहिक उल्लास, नाचगान र पारिवारिक सद्भावलाई उजागर गरेको छ।

भिडिओमा शिला गजुरेल, संस्कृति भुजेल र एलिजा काफ्लेको आकर्षक नृत्य रहेको छ। कोरियोग्राफी र निर्देशन केशबराज भट्टले गरेका हुन् भने छायांकन अजय रेग्मी र सम्पादन राकेश दाहालले गरेका छन्। सम्पूर्ण टिमले गीतको भावनालाई सशक्त रूपमा प्रस्तुत गर्न सफल प्रयास गरेको छ।

पुजन काफ्लेले गत वर्ष पनि तीजको अवसरमा मन छुने गीत प्रस्तुत गरेकी थिइन्, जसले उल्लेखनीय सफलता पाएको थियो। यस वर्ष सार्वजनिक भएको ‘छड्के तिलहरी’ उनको आफ्नै युट्युब च्यानलमा उपलब्ध छ र छोटो समयमा नै दर्शक–श्रोताबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ।

गायनमा निरन्तरता र सांगीतिक योगदान

पुजन काफ्लेले नेपाली संगीत क्षेत्रमा निरन्तर सक्रियता जनाउँदै आएकी छिन्। लोकगीत, तीज गीतदेखि आधुनिक गीतसम्म उनले आफ्ना स्वरको पहुँच पु¥याएकी छिन्। मौलिक र सांस्कृतिक जरा बोकेका गीतहरूलाई आधुनिक संगीत र उत्कृष्ट प्रस्तुतीकरणमार्फत जन–जनमा पुर्याउने उनको लक्ष्य रहेको छ।

उनी भन्छिन्, “तीज पर्व हाम्रो संस्कृति र आत्मीयताको प्रतीक हो। ‘छड्के तिलहरी’ गीतमार्फत मैले नेपाली महिलाहरूको खुशी र परम्परागत सौन्दर्यलाई उजागर गर्ने प्रयास गरेकी छु।”