साझेदारी गर्नुहोस्

डिप बोरिङ, ट्युबेल जडान गर्नेतर्फ ध्यान दिन गृहमन्त्री रमेश लेखकले दिए निर्देशन

तराई–मधेशका २१ जिल्लाका सीडीओलाई गृहमन्त्री लेखकको निर्देशन : डिप बोरिङका लागि ठाउँ पहिचान गर्नू

काठमाडाैं: गृहमन्त्री रमेश लेखकले तराई–मधेशका २१ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) हरुलाई खानेपानी र सिँचाइको संकट निवारणका लागि समन्वय गर्न निर्देशन दिएका छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार आयोजना गरेको भर्चुअल छलफलमा तराई–मधेशका जनप्रतिनिधिसहित २१ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) हरु सहभागी थिए ।

मधेश प्रदेशलगायत सुक्खाग्रस्त जिल्लाका स्थानीय तहका जनप्रतिनिधि र सीडीओहरूले बैठकमा आफ्नो क्षेत्रको अवस्था र गरिरहेको पहलबारे जानकारी गराएका थिए ।

मन्त्रिपरिषद्ले यही साउन ८ गते मधेशलाई तीन महिनाका लागि विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको छ । यसअघि, पानीको स्रोत तथा मुहान सुकी खानेपानी तथा सिँचाइ कार्यमा समस्या उत्पन्न भएपश्चात् असार २६ गते मधेश प्रदेश सरकारले प्रदेशलाई सुक्खाग्रस्त क्षेत्र घोषणा गरेको थियो ।

 

गृहमन्त्री लेखकले भर्चुअल छलफलमार्फत जल संकट व्यहोरिरहेका जिल्लामा प्राथमिकताका आधारमा डिप ट्युववेल र डिप बोरिङ जडान गर्ने स्थानको पहिचान गर्ने कार्यका लागि समन्वय र सहजीकरण गर्न प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिए।

विशेषत: संकटग्रस्त क्षेत्र घोषणा भएको मधेश प्रदेशका जिल्लामा खानेपानी र सिँचाइको संकट व्यहोरिरहेका नागरिकहरुलाई सहायता गर्न सीडीओहरुलाई गृहमन्त्रीको निर्देशन छ ।

क्षेत्रगत आवश्यकतालाई प्राथमिकीकरण गरेर छिटोभन्दा छिटो डिप बोरिङ, ट्युबेल जडान गर्नेतर्फ ध्यान दिन गृहमन्त्री लेखकले निर्देशन दिएका छन् ।

खानेपानीको अभाव भइरहेको सार्वजनिक स्थान, विद्यालय, सेवामूलक कार्यालयहरुमा समेत पानीको उपलब्धता सुनिश्चित गर्न समेत गृहमन्त्रीले सीडीओहरुलाई समन्वयात्मक भूमिका निभाउन भनेका छन् ।