प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरुसँग प्रश्न र जिज्ञासाकाे जवाफ दिएका छन् ।
बुधबार संघीय ससदको दुवै सदनमा प्रधानमन्त्रीले सांसदहरुले प्रश्नको जवाफ दिएका थिए ।

नेकपा (एकीकृत समाजवादी)का सांसद मेटमणि चौधरीले प्रधानमन्त्री ओलीले कुश्मामा रेल-वे स्टेशन बनाउने घोषणा गरे पनि आगामी आर्थिक वर्षको बजेटमा त्यसका लागि बजेट विनियोजन नभएकोप्रति प्रश्न गरेका छन्।
बुधबार प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा बोल्दै प्रतिपक्षी दलका सांसद चौधरीले बजेट वक्तव्यमा कुश्मामा रेलवे स्टेसन बन्ने कुरा नपरेको विषयमा प्रश्न गरेका थिए।
‘कुश्मामा रेलको स्टेशन बन्ने कुरा गर्नुभएको थियो। त्यो विषयमा बजेट वक्तव्यमा समेटिएन। जग्गा अधिग्रहण गर्ने कुरा पनि आएन। कुश्माका जनताहरू रेल स्टेशन बन्ने विषयमा आशावादी हुनुहुन्छ। तर सम्बोधन नभएपछि निराश हुनुहुन्छ,’ उनले भने।
जबाफमा प्रधानमन्त्री ओलीले सिधा व्यंग्य गर्न खोजिएको बुझिने बताए।
‘माननीय ज्यूले कुश्मामा रेल-वे स्टेशन भनेर व्यंग गर्न खोज्नुभएको बुझिन्छ। हिजो बेलुका बनाउने भनेको रेलमार्ग बिहानसम्म तयार भएन भन्ने प्रश्न भयो। रेल भनेको बेलुका भनेर रातिसम्म वा बिहानसम्ममा तयार हुने हो र?,’ उनले भने।






















