काठमाडौं, गोठाटार – मदन-आश्रित मेमोरियल पोलिटेक्निक इन्स्टिच्युटका कार्यवाहक अध्यक्ष तथा पूर्व मन्त्री रामेश्र्वर फुयालले नेपालको शिक्षालाई जीवन उपयोगी बनाउने हो भने प्राविधिक, सिपमूलक र रैथाने शिक्षामा विशेष जोड दिनुपर्ने आवश्यकतामाथि जोड दिनुभएको छ।

सोमबार काठमाडौँको गोठाटारमा आयोजित एक कार्यक्रममा बोल्दै संविधानसभा सदस्य समेत रहनुभएका उहाँले भन्नुभयो, “हाम्रो ईच्छा, चाहना, क्षमता फरकफरक छन्। त्यसैले जनशक्तिको आवश्यकतासमेत फरकफरक हुन्छ। रैथाने शिक्षा र सिपले मानिसहरूलाई रोजगार र आत्मनिर्भरता दुवै दिलाउन सक्छ। रैथाने ज्ञानको पुस्तान्तरण गर्नु आजको आवश्यकता हो, जसले हाम्रो संस्कृति, सम्पदा र आत्मनिर्भरतालाई जोगाउन सहयोग गर्छ।”
पूर्व मन्त्री फुयालले सिपको शिक्षा पुस्तान्तरण गरेर मानिसलाई स्वाभिमानी, दक्ष र आत्मनिर्भर बनाउनु आवश्यक रहेको उल्लेख गर्नुभयो। उहाँका अनुसार मानिसहरूका अभिव्यक्तिहरू फरक हुन्छन्, त्यसैले शिक्षाको स्वरूप पनि फरक हुनुपर्छ। उहाँले प्राविधिक जनशक्तिको खाँचो रहेको उल्लेख गर्दै त्यसतर्फ सरकार र समाजले गम्भीरता देखाउनुपर्ने बताउनुभयो।
त्यसै अवसरमा उहाँले घोषणा गर्नुभयो कि, “आज हामीले मदन आश्रित स्मृति प्रतिस्थानद्वारा सञ्चालित मदन-आश्रित मेमोरियल पोलिटेक्निक इन्स्टिच्युटबाट ब्यूटीशियन र फार्मेसी विषयमा प्राविधिक शिक्षाको प्रबन्ध गर्न नेपाल सरकारलाई अनुरोध गर्ने निर्णय गरेका छौं।”

उहाँले यस इन्स्टिच्युटबाट उत्पादन भएको दक्ष जनशक्ति अहिले देशैभर कार्यरत रहेको जानकारी दिँदै थप्नुभयो , “अब संख्या मात्रै होइन, गुणस्तरीय शिक्षामा विशेष ध्यान दिनुपर्छ। त्यसका लागि संघ, प्रदेश र स्थानीय तहको समन्वय अत्यन्त जरुरी छ।”
बैठक अन्त्यमा सहभागीहरूबीच प्राविधिक शिक्षामा नविनता र समावेशिता ल्याउने विषयमा समेत छलफल भएको थियो।























