साझेदारी गर्नुहोस्

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका अरू नेताहरूलाई पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको प्रवक्ता नबन्न चेतावनी दिएका छन् ।

पार्टीको नवौं केन्द्रीय कमिटी बैठकको सुरुवात गर्दै अध्यक्ष ओलीले भण्डारीले अहिलेसम्म केही नभनेकाले अरूलाई उनको प्रवक्ता नबन्न भनेका हुन् ।

उनले विद्या भण्डारीले अहिलेसम्म के गर्छु भनेर खुलस्त नभनिसकेकाले भण्डारीको प्रवक्ता नबन्न पनि सुझाव दिएका छन् । ‘कोही उहाँको प्रवक्ता बन्नुभएको छ, त्यो किन पयो त्यो,’ अध्यक्ष ओलीले भने, ‘उहाँले के गर्नुहुन्छ भनिसक्नुभएको छैन ।’

उनले पूर्वराष्ट्रपति भण्डारीलाई बालुवाटार नै बोलाएको स्वीकार पनि गरे । तर, भण्डारीले नै लामो समयदेखि पार्टी कार्यालय नगएको भन्दै च्यासलमा भेट्न आग्रह गरेको उनले बैठकमा सुनाए ।

‘विद्याजीलाई बालुवाटर नै बोलाएको थिएँ, उहाँले पार्टी कार्यालय देखेको छैन भन्नुभयो । च्यासलमा भेटियो,’ अध्यक्ष ओलीले भने, ‘पूर्व राष्ट्रपति र प्रधानमन्त्री भेट्दा के ठूलो कुरा भयो र तपाईंहरूले ठूलो बनाउनुभएको छ ।’

उनले पार्टीभित्र अस्वस्थ गतिविधि हुन नदिने पनि बताएका छन् । अध्यक्ष ओलीले केही नेताहरु पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको अघिपछि लागेको भन्दै आक्रोश पनि व्यक्त गरे ।  उनले चुनाव हारेका नेताहरू पनि भण्डारीको अघिपछि लागेर हिंडेको भन्दै आपत्ति जनाएका हुन् ।

‘जता जाँदा पनि पछ्याउन पर्ने ? चुनाव हारेकाहरूले पछ्याएर हिँड्ने ?,’ ओलीले बैठकमा राखेको भनाइ उद्धृत गर्दै एक नेताले भने, ‘यसरी हुँदैन ।’

आफूले भेटमा भण्डारीलाई राजनीतिमा नआउन भनेको पनि जानकारी गराए