साझेदारी गर्नुहोस्

यस वर्षको साउने सोमबार पशुपतिनाथ मन्दिरमा दर्शन गर्न आउने भक्तजनलाई पहिलोपटक निःशुल्क बस सेवा दिइने भएको छ।

धार्मिक, सांस्कृतिक पत्रकार समाज, नेपाल (रेक्जोन) का नवनिर्वाचित पदाधिकारी एवं कार्यसमिति सदस्यहरूसँग भएको अन्तरक्रियामा पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव सुवासचन्द्र जोशीले साउन ५ गते पहिलो सोमबारदेखि सुरु हुने यो सुविधाका लागि चारवटा सार्वजनिक बस परिचालन गरिने बताए।

उनका अनुसार यी बसले चक्रपथ घुमेर पशुपतिनाथ आउने दर्शनार्थीलाई निःशुल्क सेवा दिनेछन् ।

यस सेवाका लागि दुई बस गीता प्रेस नेपालको सहयोगमा र दुई बस यातायात व्यवसायी उच्च राष्ट्रिय महासंघको सहयोगमा उपलब्ध हुनेछन्।

“पशुपतिनाथ आउने भक्तजनलाई यो पहिलोपटक निःशुल्क बस सेवा दिइंदैछ। साउन ५ गते सोमबार बिहान ३ बजेबाटै मन्दिरका चारै ढोका खुल्ने छन्,” सदस्य सचिव जोशीले जानकारी दिए।

यस पटक मूल मन्दिरमा भीड कम गर्न विशेष योजना बनाइएको छ। भक्तजनले लाइन बसेर अधिकतम एक घण्टामा दर्शन गरी फर्कन सक्ने गरी व्यवस्थापन मिलाइएको छ। घाम र पानीबाट बच्न नेपाली सेनाको कल्याणकारी कोषले मन्दिर बाहिर टेन्ट राख्नेछ।

सञ्चालक परिषद्का सदस्यहरू पनि बिहान ३ बजेदेखि व्यवस्थापनमा खटिनेछन्। यस पटक रु ७५०० भन्दा माथिको विशेष पूजा मात्रै मन्दिरमा गरिने जानकारी दिइएको छ।