साझेदारी गर्नुहोस्

सिद्धार्थ राजमार्गमा आइतबारदेखि रातिको समयमा सवारी चलाउन रोक लगाइएको छ। जिल्ला प्रशासन कार्यालय कास्कीले सूचना जारी गर्दै रातिको समयमा सवारी चलाउन रोक लगाएको हो।

कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्सालले जारी गरेको विज्ञप्तिमा लामो दुरीका सवारीसाधनहरू दिउँसो ४ बजेभित्रै छुटिसक्नुपर्ने जनाइएक छ। गण्डकी प्रदेशको दोस्रो महत्त्वपूर्ण यो सडकमार्ग प्रयोग गरेर भैरहवा हुँदै भारतसम्म जोडिन्छ।

यो सडकमार्गमा यात्रुवाहकदेखि मालवाहक सवारीको चाप छ। गण्डकीबाट लुम्बिनी हुँदै कर्णाली, सुदूरपश्चिम प्रदेशसम्म सवारी चल्ने गरेका छन्।

यस्तै, छोटो दुरीका सवारीसाधन साँझ ५ बजेभित्रै कास्कीको प्रस्थान विन्दु छोरेपाटनबाट छुटिसक्नुपर्ने बताइएको छ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले अझै केही समय गण्डकी प्रदेशका विभिन्न स्थानमा मध्यमदेखि भारी वर्षा हुनसक्ने उल्लेख गरेसँगै उच्च सावधानी अपनाइएको हो।

कार्यालयले मानवीय तथा भौतिक क्षति न्यूनीकरणको लागि जिल्ला सुरक्षा समिति, स्याङ्जासँगको समन्वय र जिल्ला प्रशासन कार्यालय, स्याङ्जाबाट जारी सूचना समेतका आधारमा सिद्धार्थ राजमार्गमा सवारी चलाउन रोक लगाउने निर्णय गरेको हो।