प्रधानमन्त्री केपी शर्मा ओलीले मौसम विज्ञान विभागले आज (साउन ४, आइतबार) व्यापक मात्रामा वर्षा हुने आकलन गरेको उल्लेख गर्दै अत्यावश्यकबाहेक लामो यात्रा नगर्न र सुरक्षित स्थानमा रहन आम नागरिकलाई आग्रह गरेका छन्।
साथै उनले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन पनि दिएका छन्।
प्रधानमन्त्री ओलीले आइतबार बिहानै सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘मौसम विज्ञान विभागले आज दिउँसो देशका विभिन्न स्थानहरूमा भारी वर्षा हुने अनुमान गरेको छ। मौसमजन्य विपद्बाट बच्न सुरक्षा निकायले आवश्यक सतर्कताका लागि जारी गरेको सूचनालाई पालना गरौँ। अत्यावश्यकबाहेक लामो यात्रा नगर्न र सुरक्षित स्थानमा रहन अनुरोध गर्दछु। सुरक्षाकर्मीहरूलाई आवश्यक सुरक्षाको तयारी अवस्थामा रहन निर्देशन गर्दछु।’






















