इजरायलले बुधबार सिरियाली सेनाको मुख्यालयमा आक्रमण गरेको छ। अन्तर्राष्ट्रिय समाचार संस्था अल जजिराका अनुसार सिरियाली सुरक्षा बल र ड्रुज सशस्त्र समूहबीच जारी द्वन्द्वको क्रममा इजरायलले दमास्कसको राष्ट्रपति भवननजिकै रहेको रक्षा मन्त्रालयमा आक्रमण गरेको हो।
सिरियाली स्वास्थ्य मन्त्रालयले यस आक्रमणमा एक जनाको मृत्यु भएको र १८ जना घाइते भएको बताएको छ। साथै, सिरियाली सरकारले आक्रमणको निन्दा गर्दै यसलाई ‘आपराधिक र गैरकानूनी व्यवहार’ भनेको छ।
इजरायली सेनाले दमास्कसको सिरियाली सेनाको मुख्यालयमा ठूलो क्षति पुगेको दाबी गरेको छ। “चेतावनीको समय सकिएको छस अब कठोर र पीडादायी प्रहारहरू हुनेछन्,” इजरायलका रक्षामन्त्री इजरायल काट्जले भने।
यस्तै, प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले ड्रुज समुदायलाई बचाउन र सिरियाली शासनको गिरोहलाई नष्ट गर्न काम भइरहेको बताएका छन्। उनले ड्रुज समुदायका इजरायली सदस्यहरूलाई सिरियामा सीमा पार नगर्न पनि आग्रह गरे।






















