प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलले पार्टीभित्रको एकतालाई मजबुत बनाएर लागे एमालेलाई अरुले हराउन नसक्ने बताएका छन्।
आइतबार नेकपा (एमाले) को जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले एमालेमा लामो समय बसेर विभिन्न जिम्मेवारी र लाभको अवसर लिएका कतिपय स्वार्थी नेताहरूले विगतमा पार्टी विभाजन र पार्टी सिध्याउने षड्यन्त्र गरे पनि कार्यकर्ता र जनताले एमालेलाई बचाएर पुनः राष्ट्रिय शक्ति बनाएको जिकिर गरे।
‘एमालेबिनाको देश र केपी ओलीबिनाको एमाले होस् भन्ने कामना गर्नेहरूको कामना पूरा हुँदैन,’ ओलीले भने, ‘एमाले साना स्वार्थ बोक्ने पार्टी होइन। यसको काँधमा देश बनाउने महान उद्देश्य छ। यो राष्ट्रिय हितका लागि बलिदानबाट आएको पार्टी हो।’
उनले थपे, ‘एमालेविरुद्ध जाल बुन्नेहरु सफल हुँदैनन्। माकुरोको जालोमा कहिल्यै भैसी पर्दैन। हाम्रा विरुद्धको भ्रामक प्रचारको पछि लाग्नु हुँदैन। केपी ओली र एमालेले भ्रष्टाचार गर्दैन। हामी सहकारी ठगेर मुद्दा झेलेपछि आफ्नो पक्षमा हस्ताक्षर अभियान चलाउने रास्वपाजस्तो हुँदै होइन।’






















