साझेदारी गर्नुहोस्

वनेपा, काभ्रे । वनेपा नगरपालिका–१० मा रहेको चण्डेश्वरी ड्राइभिङ सेन्टरले खोलो, राजकुलो र २३ फिट चौडाइको सार्वजनिक गोरेटो बाटो मिचेर नक्सा पास गराई निजी कम्पाउन्डसहितको संरचना निर्माण गरी ड्राइभिङ तालिम सञ्चालन गरिरहेको छ।

कित्ता नं. ५३६, ५४० र ५४१ मा सार्वजनिक बाटो स्पष्ट देखिने नक्सा हुँदाहुँदै पनि न नापी कार्यालय, न नगरपालिकाले कारबाही अघि बढाएको स्थानीयको गुनासो छ। खोलोको हकमा ११ मिटर मापदण्ड पालना गर्नुपर्नेमा ६–७ मिटर मात्र छोडिएको छ ।


वनेपामा रहेको चण्डेश्वरी ड्राइभिङ सेन्टरले खोला र राजकुलोको सार्वजनिक जग्गा मिचेर ड्राइभिङ प्रशिक्षण केन्द्र सञ्चालन गरिरहेको आरोप लाग्दै आएको छ। सरकारी मापदण्डको उल्लंघन गर्दै गरिएको निर्माण कार्यप्रति स्थानियबासीहरूले कडा आपत्ति जनाएका छन् ।स्थानियका अनुसार ड्राइभिङ सेन्टरले गोरेटो बाटोसमेत अतिक्रमण गर्दै निजी कम्पाउन्ड बनाएको छ। उक्त क्षेत्रमा ड्राइभिङ परीक्षण केन्द्र बनाउने तयारी भइरहेको बेला स्थानियले विरोध जनाए पनि सेन्टर सञ्चालकले त्यसको बेवास्ता गर्दै प्रभावशाली व्यक्तिहरूको आडमा कार्य अगाडि बढाइरहेको जनाइएको छ ।


वनेपा नापी कार्यालयको पुरानो नक्सामा रहेको कित्ता नं. ५३६, ५४० र ५४१ मा प्रस्ट रूपमा सार्वजनिक गोरेटो बाटो देखिन्छ। सोही आधारमा वडाले नापी कार्यालयलाई पत्राचार समेत गरिसकेको छ । तर, सार्वजनिक बाटो मिचिएको हुँदा पनि न नगरपालिकाले न नापी कार्यालयले ठोस कदम चालेको देखिँदैन ।

स्थानीय बासिन्दाहरूले भनिरहेका छन् कि नियम-कानुनको उल्लंघन गर्दै, अनधिकृत तरिकाले (कानुनी प्रक्रिया नपुर्‍याई वा बेवास्ता गर्दै) नक्सा पास गरिएको छ र त्यसको आधारमा संरचना (घर, टहरा, भवन आदि) निर्माण गरिएको छ।

 

झन गम्भीर कुरा त, यसबारे पटक–पटक उजुरी दिँदा पनि वनेपा नगरपालिकाले कानुनी प्रक्रिया अनुसार कदम नचालेको भन्दै स्थानियहरू आक्रोशित छन् । यो विषयमा बागमती प्रदेश सरकारअन्तर्गत श्रम, रोजगार तथा यातायात मन्त्रालय समेत मौन बसेको देखिन्छ भने यसले कानुन विपरित अनुमति दिएको देखिन्छ जसले कानुनको उपहास उडाएको स्थानियको टिप्पणी छ ।
सार्वजनिक सम्पत्तिको रक्षा गर्नु पर्ने निकायहरू स्वयं प्रभावमा परी निजी व्यवसायलाई संरक्षण दिन थालेपछि स्थानियहरूमा शंका गहिरिँदै गएको छ । यो विषयमा सम्बन्धित निकायहरूले स्पष्ट र पारदर्शी छानबिन गरी यथाशीघ्र समाधान गर्नु पर्ने माग सर्वत्र उठिरहेको छ ।

स्थानीयको माग
 १.२३ फिटको सार्वजनिक बाटो तुरुन्त खुला गरियोस्।
 २.खोलोको मापदण्डअनुसार संरचना हटाइयोस्।
 ३.नक्सा पास प्रक्रिया र प्रशासनिक भूमिकाबारे स्वतन्त्र छानबिन गरियोस्।
 ४.दोषीमाथि कानुनी कारबाही गरियोस्।
 ५.नक्सा, मापदण्ड र सार्वजनिक जग्गा संरक्षणको प्रक्रिया पारदर्शी गरियोस्।