साझेदारी गर्नुहोस्

प्रधानमन्त्री केपी शर्मा ओलीले खेलकुद क्षेत्रलाई राजनीतिसँग जोड्न नहुने बताएका छन्। बिहीबार ‘नेसनल हाइ पर्फमेन्स सेन्टर एन्ड स्पोर्टस् साइन्स ल्याब’को उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले खेलकुदमन्त्री तेजुलाल चौधरीलाई लक्षित गर्दै यस्तो बताएका हुन्।

ओलीले नेपाल प्रिमियर लिग (एनपीएल)का विषयमा राजनीति भइरहेको भन्दै ओलीले खेल नरोकिने बताए।

‘सरकारमा राजनीतिक दल नै आउने हो। सरकारमा आएपछि जुन क्षेत्रको काम छ,  त्यसको विकास गर्ने हो। कृषि हो भने कृषिको विकास हुनुपर्‍यो, उद्योग हो भने उद्योगको विकास हुनुपर्‍यो। त्यहाँ राजनीतिक गर्नुभएन,’ ओलीले भने, ‘खेलमा हो भने खेलको विकास गर्नुपर्छ। खेललाई अगाडि लैजानुपर्छ। त्यहाँ ‘पोलिटिक्स’ गर्ने होइन। पोलिटिक्सका लागि ‘देयर इज नो स्पेस’। जो आउँछ, उसले पोलिटिक्स गर्ने होइन खेलमा ध्यान दिनुपर्‍यो।’

एनपीएलका सन्दर्भमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) र नेपाल क्रिकेट संघ (क्यान)बीच विवाद छ। एनपीएलको हिसाबकिताबका सबालमा दुई निकायबीच भइरहेको विवादबीच प्रधानमन्त्री ओलीले मन्त्री चौधरीलाई खेलकुदको विकासमा लाग्न निर्देशन दिए।

एनपीएलको कामहरू रोक्न दिएको निर्देशनमा आपत्ति जनाउँदै ओलीले क्यानलाई एनपीएलको तयारी तीव्र बनाउन आग्रह गरे।