गायिका एलिना चौहानले भनिन्, “गाली गरेको टिप्पणीलाई ‘स्क्रिन सट’ गरेर सार्वजनिक गरेपछि धेरैले माफ मागिरहेका छन् ।”
गायिका चौहानले सामाजिक सञ्जालमा अमर्यादित गालीगलौज धेरै भए पछि गाली गर्नेहरूलाई सार्वजनिक गर्न थालेपछि त्यस्ता प्रतिक्रिया दिनेहरुले धमाधम माफी माग्न थालेका हुन् ।
गीतको टिप्पणीमा अपमानजनक गालीगलौज बढ्दै गएपछि गायिका चौहानले यही असार १६ गते नेपाल प्रहरीअन्तर्गतको ‘साइबर ब्युरो’मा उजुरी दिएसँगै माफ माग्नेको सङ्ख्या बढेको हो ।
“डिभोर्सपछि गायिका चौहानले यस्तो गीत गाइन्, उस्तो गरिन् भन्ने र मेरो त नाम नै डिभोर्सजस्तो भयो, फेरि जोडियो सम्बन्ध रे, के के हो के के”, उनले भनिन्, “बुबाआमालाई छोरीको ज्यान नै खतरामा पर्छ भन्ने चिन्ता भएपछि न्यायका लागि साइबर ब्युरोमा गएर उजुरी गरेँ, अहिलेसम्म १५ जनाविरुद्ध उजुरी दिएकी छु ।”
सामाजिक सञ्जालमा जे पनि लेख्न नहुने भन्दै उनले भनिन्, “सच्चिन जरुरी छ, गाली गर्दा पनि कस्तो शब्द लेख्ने ? के लेख्न पाइन्छ ? के लेख्न पाइँदैन ? भन्ने थाहा हुनुपर्छ । व्यक्तिगत कुरामा तथानाम गाली गर्न त मिल्दैन नि ?, त्यो बुझ्न जरुरी छ ।”
सुझावका लागि टिप्पणी गर्नेले प्रतिभाका बारेमा प्रतिक्रिया दिएको उनलाई राम्रो लाग्छ । “तेरो स्वर मन पर्दैन भन्नु म केही भन्दिन, मलाई राम्रो नै भन्नुपर्छ भन्ने हैन”, उनले भनिन्, “मैले नपढेको कमेन्ट बाबाले पढ्दा कस्तो नराम्रो लाग्छ, कमेन्ट पढ्नै नमिल्ने खालको हुन्छ, अहिले त डराएर माफ मागिरहेका छन्, गलत कमेन्ट अहिले खोज्नुपर्छ, आलोचना वा विरोध गर्दा पनि पढ्न मिल्ने खालको होस् न ।”
अश्लील गालीगलौजले आफू र परिवारमा ठूलो तनाव सिर्जना भएको उनले सुनाइन् । “भ्युज बढाउन र डलरको पछाडि लागेर जे पनि लेख्ने चलनले धेरैको जीवन बर्बाद भएको छ, यस्तो कुराले त्यो व्यक्ति र परिवारमा परेको असरबारे कसैले सोच्दैनन्”, उनले आफ्नो पीडादायी अनुभव सुनाउँदै भनिन्, “त्यसैले यो कदम उठाउन बाध्य हुनुप(यो ।” सामाजिक सञ्जाल नै गाली खाने प्लेटफर्म जस्तो भएको र गणतन्त्र भनेको चरित्र हत्या गर्ने वा गाली खानका लागि मात्र नभएको उनको भनाइ छ ।
सामाजिक सञ्जालमा अपमानजनक शब्द अति भएपछि प्रधानमन्त्रीसँग न्याय माग्न गएको र प्रधानमन्त्रीले यस्तो विषय अपराध हो भनेर हेरिदिएकोप्रति उनले खुसी व्यक्त गरिन् । सोही सहानुभूतिले यस्तो अभियानमा लाग्न थप आत्मबल बढाएको चौहानको भनाइ छ ।






















