कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध हुन नदिने उद्देश्यले ठाउँठाउँ तयारीका साथ डोजरसहित आवश्यक सामग्री राखिएका छन् । राजमार्गको सुर्खेतबाट मुगुसम्मको खण्डमा वर्षातको समयमा बाढीपहिराका कारणले अवरुद्ध हुनसक्ने स्थान पहिचान गरी महत्वपूर्ण उपकरणसहित डोजरलाई तयारी अवस्थामा राखिएको हो ।
राजमार्ग अवरुद्ध नहोस् र भइहाले तत्काल सञ्चालनमा ल्याउन सकियोस् भनेर अत्यावश्यक उपकरणसहित डोजरलाई तयारी अवस्थामा राखिएको सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ । राजमार्गको सुर्खेत–दैलेख–कालीकोट–जुम्ला–मुगु सडकका विभिन्न सात स्थानमा सडक डिभिजन कार्यालय सुर्खेत र जुम्ला डोजर राखेका हुन् ।
राजमार्गलाई लक्षित गरी सडक डिभिजन कार्यालय सुर्खेतले दैलेखको राकम र तल्लो डुङ्गेश्वरमामा डोजर राखेको कार्यालय प्रमुख खुमबहादुर भण्डारीले बताए । “यी डोजरले लेदो माटो वा पहिरो खसेर सडक अवरुद्ध गराए वा पहिरोले सडक अवरुद्ध गराएमा तत्काल सफा गरी सडक खुलाउने काम गर्ने छन्”, उनले भने, “वर्षायाम सुरु हुनासाथ कर्णालीका प्रमुख राजमार्ग अवरुद्ध हुनसक्ने सम्भावनालाई ध्यानमा राखी आवश्यक सामग्रीसहित डोजरहरू तयारी अवस्थामा राखेका हौँ ।”
सडक डिभिजन कार्यालय जुम्लाले कालीकोटबाट मुगुसम्मको सडकलाई लक्षित गरेर पाँच ठाउँमा डोजर तैनाथ गरेको छ ।






















