नेपाली कांग्रेसका नेतासमेत रहेका गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा आफूमाथि राजनीतिक प्रतिशोध साँधिएको भन्दै पार्टी बैठकमा गुनासो गरेका छन्। पार्टी कार्यालय सानेपामा जारी केन्द्रीय समितिको बैठकमा संसद् र सरकारमा पार्टीको भूमिकाको विषयमा जानकारी गराउनेक्रममा यस्तो गुनासो गरेका हुन्।
‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयको विषयलाई लिएर विभिन्न प्रचार भइरहेको छ। यसबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेको छ। केही कर्मचारी र केही निजी क्षेत्रका मान्छेहरूमाथि अनुसन्धान भइरहेको छ। अख्तियारले अनुसन्धान सुरु गर्ने वित्तिकै म संलग्न भएको जसरी प्रचार गरियो,’ उनले भने, ‘म के निवेदन गर्न चाहन्छु भने यो राजनीतिक संयन्त्रले प्रतिशोध साँध्ने गरी गरेको प्रचारको विषय हो।’
उनले अख्तियारले सम्बन्धित कार्यालयमा अख्तियारले अनुसन्धान जारी राखेको र आवश्यक दस्तावेज पनि नियन्त्रणमा लिएको सुनाए।
‘सम्बन्धित कार्यालयमा अख्तियारले अनुसन्धान गरेर आवश्यक दस्तावेज र आवश्यक कुराहरू नियन्त्रणमा लिएको छ। सम्बन्धित मान्छेहरूलाई अुनसन्धान गरिरहेको छ,’ उनले थपे, ‘हाम्रो संविधानले अख्तियारलाई पूर्ण अधिकारको व्यवस्था गरेको छ। सरकारले, मैले तत्कालै गर्नुपर्ने भनेको अख्तियारको माग बमोजिम अनुसन्धानमा सहयोग हो। यो भइरहेको निवेदन गर्न चाहन्छु।’
उनले अहिले भिजिट भिसाको नाममा मात्रै नभई समग्र अध्यागमनकै प्रणाली नै सुधार्नुपर्ने आवश्यकता भएको पनि औंल्याए। प्रणाली सुधारका लागि समिति बनाएको र उक्त समितिले एक दुई दिनमै काम सुरु गर्ने उनको भनाइ छ।
‘अध्यागमन प्रणालीमै सुधारको आवश्यकता छ। कुरा भिजिट भिसाको मात्रै होइन। नेपालबाट बाहिर जाने र नेपाल आउनेको विषयमा प्रणाली नै सुधार गर्नुपर्ने छ,’ लेखकले भने, ‘कानुनी र संरचनात्मक सुधारमा के गर्न सकिन्छ भनेर समिति बनेको छ। समितिले आज-भोलि नै काम सुरु गर्छ। अख्तियारले हेर्ने अख्तियारले हेरिरहेको छ त्यो उसको निष्कर्षमा पुगोस् यता सुधारका लागि समितिले तीन महिना अध्ययन गरेर प्रतिवेदन बुझाउँछ। त्यो अनुसार काम गर्ने भनेर मैले प्रतिवद्धता गरिसकेको छु।’






















