प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेनको सेभिया शहरमा आयोजित ‘विकासका लागि वित्त’ विषयक चौथो अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै अल्पविकसित देशहरू (एलडिसी)का पक्षमा न्यायपूर्ण र समावेशी वैश्विक वित्तीय संरचना निर्माण गर्न आह्वान गरेका छन्।
प्रधानमन्त्री ओलीले एलडिसी समूहको तर्फबाट सम्बोधन गर्दै भने, “म एलडिसी समूहको तर्फबाट यो ऐतिहासिक सम्मेलनमा बोल्न पाउँदा गर्व महसुस गरिरहेको छु।”
उनले आफ्नो सम्बोधनमा पछिल्लो एक दशकमा विश्वको समग्र आर्थिक वृद्धिसँगै असमानता गहिरिँदै गएको उल्लेख गरे। “विश्वको जीडीपी ७५ ट्रिलियनबाट ११५ ट्रिलियन पुगेको छ, तर राष्ट्रहरूबीच र राष्ट्रभित्र असमानता झनै चुलिएको छ,” उनले भने।
प्रधानमन्त्री ओलीले विकासशील राष्ट्रहरूमाथि ऋणको चाप बढ्दो रहेको, प्रविधिमा एलडिसीहरू पछाडि परेका, जलवायु परिवर्तनको असर तीव्र रूपमा परेको तथा पूर्वाधारको अभावले समृद्धिमा बाधा पुगेको भन्दै गम्भीर चिन्ता व्यक्त गरे।






















