श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरद सिंह भण्डारीले सीपयुक्त जनशक्ति नभएसम्म मुलकको विकास हुन नसक्ने धारणा राखेका छन् ।
राष्ट्रिय व्यवसायिक प्रशिक्षण प्रतिष्ठानले आज आयोजना गरेको सरकारी तथा गैरसरकारी निकाय-संस्थासँग अन्तरक्रिया गोष्ठीमा मन्त्री भण्डारीले मुलुकभित्र सीपयुक्त दक्ष जनशक्ति उत्पादन गर्न मन्त्रालयले आन्तरिक रोजगार दशक लागू गर्न खोजिरहेको उल्लेख गरे।
‘मन्त्रालयले आन्तरिक रोजगारीको सृजना गरेर अगाडि बढ्नेगरी योजना बनाइरहेको छ, बाध्यात्मक वैदेशिक रोजगारीलाई अन्त्य गर्न मन्त्रालय प्रयासरत छ, यसलाई निरुत्साहित गरिनुपर्छ । सूचना प्रविधिको सहयोगमा रोजगारीका अवसर सृजनामा केन्द्रित भएका छौँ’, उनले भने।
मन्त्री भण्डारीले सरकारले दिएको रोजगारी मात्रै रोजगारी हो भन्ने भ्रमबाट मुक्त हुनुपर्छ भन्दै निजी क्षेत्रले सृजना गर्ने रोजगारी पनि महत्त्वपूर्ण हुने बताए।
श्रममन्त्री भण्डारीले मन्त्रालयको जिम्मेवारी वैदेशिक रोजगारी मात्र नभइ आन्तरिक रोजगारी बढाउने भएकाले मन्त्रालयमा आन्तरिक रोजगार महाशाखा स्थापना गरी काम गरिरहेको जानकारी दिए । उनले श्रम क्षेत्रमा आउने चुनौतीको सामना गर्न, वैदेशिक रोजगारीमा रहेकालाई नेपालमा फर्काएर रोजगारीको वातावरण सृजना गर्न सबै पक्षले जिम्मेवारी र जवाफदेही भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए।






















