राष्ट्रिय स्वतन्त्र पार्टीले भिजिट भिसा प्रकरणमा पीडित भएका २ हजार बढी नेपाली नागरिक सम्पर्कमा आएको जनाएको छ। कार्यवाहक प्रवक्ता मनीष झाका अनुसार रास्वपाले ‘भिजिट भिसा र मानव तस्करीसँग सम्बन्धित प्रकरणका कारण ठगिएको कोही छ?’ भनेर आह्वान अभियान चलाएको र उक्त अभियानमार्फत प्रमाणसहित २ हजार नेपाली सम्पर्कमा आएका छन्।
‘भिजिट भिसाको दुरुपयोग मार्फत मानव तस्करी जस्तो सङ्गठित अपराध विकराल समस्या हो। यसको समाधानको लागि राष्ट्रिय स्वतन्त्र पार्टीले सदन, सङ्गठन र समाज मार्फत यो समस्याको निराकरण र संलग्नहरूलाई कानुनी कारबाहीको लागि माग राखेको सबैलाई जानकारी नै छ,’ झाले भने, ‘यही क्रममा गत जेठ १४ गते राष्ट्रिय स्वतन्त्र पार्टीले ‘भिजिट भिसा र मानव तस्करीसँग सम्बन्धित प्रकरणको कारण ठगिएको कोही हुनुहुन्छ भने, कृपया प्रमाणसहित सम्पर्कमा आउनुस्’ भनेर आह्वान गरेर अभियान चलाएका थियौँ। त्यो क्रममा भर्चुअल र फिजिकल माध्यमबाट २ हजार भन्दा धेरै पीडित नेपाली नागरिक सम्पर्कमा आउनुभयो।’
उनले सम्पर्कमा आएकाहरूलाई सम्बन्धित सरकारी तथा संवैधानिक नियोगहरूमा जान सुझाएको पनि बताए। त्यस्तै रास्वपाले गृहमन्त्रीले सदनमा बोल्दा नक्कली उजुरी दिन लगाएको भनेर विषयान्तर गर्न खोजेको आरोप पनि लगाएको छ।






















