पाल्पामा अण्डा बोकेको बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । एक जना सख्त घाइते भएका छन् ।
दुर्घटनामा जीप धनी बगनासकाली गाउँपालिका वडानम्बर १ गाप्टुङ घर भई बुटवल उपमहानगरपालिका ११ मझुवा बस्दै आएका करिब ४६ वर्षीय विनोद ढुङ्गाना र स्याङजाको गल्याङ नगरपालिका ७ घर भई हाल रूपन्देही मझुवामा बस्दै आएका ४८ वर्षीय रेशम सुनारको ज्यान गएको हो ।
आर्यभन्ज्याङदेखि रामपुरतर्फ जाँदै गरेको लु१च ६७५६ नम्बरको जीप पूर्वखोला गाउँपालिका ५ वीरकोटस्थित आर्यभन्ज्याङ रामपुर कच्ची सडकखण्डमा सडकदेखि ३०० मिटर तल खसेको थियो ।
जीप दुर्घटना हुँदा तीन जना घाइते भएका थिए । गम्भीर घाइते ढुंगानालाई लुम्बिनी मेडिकल कलेज प्रभास र रेशमलाई उपचारका लागि युनाइटेड मिसन अस्पताल तानसेन पु¥याइएकोमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते भएका सवारी चालक बुटवल उपमहानगरपालिका–११ का ३० वर्षीय राजु खड्काको अवस्था पनि गम्भीर छ । उनको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको छ ।






















