कार्यक्रममा दुई सय भन्दा बढी व्यक्तिहरुको निशुल्क स्वास्थ्य परिक्षण
जुन १४ लाई विश्व रक्तदाता दिवसका रुपमा मनाइने गरिन्छ ।
विश्व रक्तदाता दिवस २०२५ को अवसरमा ललितपुर जिल्लाको लगनखेल बसपार्कमा निशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम आयोजना गरिएको छ ।

स्वतन्त्र यातायात श्रमिक संगठनको आयोजनामा भएको उक्त कार्यक्रममा दुई सय भन्दा बढी यातायात श्रमिकहरुको स्वास्थ्य परिक्षण गरिएको थियो ।
स्वास्थ्य क्षेत्रमा कार्य गर्दै आएको सामाजिक संस्था महावीर हेल्थ फाउण्डेसन, इनोभा हस्पिटल, लाजिम्पाट, काठमाडौं, लोमस फर्मास्यूटिकल्स, माइक्रो ल्याब्स् लिमिटेडको सहकार्यमा निशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम आयोजना गरिएको हो ।

प्रमुख अतिथि सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कविराज अधिकारीले कार्यक्रममा बाल्दै विशेष दिन रक्तदाता दिवसको अवसर पारेर आयोजना भएको कार्यक्रम भन्दै आयोजक संस्था तथा सहकार्य गर्ने संस्थाहरुलाई धन्यवाद ज्ञापन गर्नुभयो ।
कार्यक्रममा बोल्दै महावीर हेल्थ फाउण्डेसनका अध्यक्ष दिपक भट्टाचार्यले विगतमा १२८ वटा स्वास्थ्य शिविर सम्पन्न गरिसकेको र आगामी दिनमा पनि यस्ता कार्यक्रमहरु आयोजना गर्दै अघि बढ्ने बताउनुभयो ।
कार्यक्रममा निशुल्क रुपमा दक्ष चिकित्सकहरुबाट मुटु तथा मधुमेह रोगको जाँच, रक्त परिक्षण, औषधी वितरण गरियो । सो अवसरमा ७८ जना व्यक्तिहरुले रक्तदान गरेका थिए ।
कार्यक्रममा बोल्दै इनोभा हस्पिटल, लाजिम्पाटका डाइरेक्टर डा. प्रिन्स रौनियारले दक्ष चिकित्सकहरुको सहभागितामा निशुल्क स्वास्थ्य शिविर आयोजना गरिएका कारण सहभागीहरुको उल्लेख्य सहभागीतामाझ सफलतापूर्वक सम्पन्न भएको बताउनुभयो ।
लोमस फर्मास्यूटिकल्सका बजार निर्देशक ओम नारायण शर्माले सामाजिक उत्तरदायित्व अन्तरगत कार्यक्रममा सहकार्य गरिएको बताउनुभयो ।
माइक्रो ल्याब्स् लिमिटेडका प्रबन्धक सन्तोष चक्रवर्तीले यस्ता कार्यक्रममा निरन्तर सहयोग गर्ने उल्लेख गर्नुभयो ।
स्वतन्त्र यातायात श्रमिक संगठनका अध्यक्ष दिपक खड्काले बढी भन्दा यातायात क्षेत्रमा कार्यरत श्रमिकहरु स्वास्थ्य शिविरबाट लाभान्वित भएको जानकारी दिनुभयो ।






















