नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरीलाई टीकापुर हत्याकाण्डकै कारण पक्राउ गरेको प्रहरीले बताएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता अपिलराज बोहराले रेशमलाई टीकापुर घटनाकै कैद भुक्तान बाँकी रहेकाले अदालतको आदेशअनुसार पक्राउ गरेको बताए । ‘पहिलेको मुद्दामा कैद भुक्तान हुन बाँकी रहेको थियो र सर्वोच्च अदालतको आदेश अनुसार चौधरीलाई पक्राउ गरेका हौँ,’ उनले भने ।
टीकापुर काण्डका प्रमुख आरोपी चौधरी राष्ट्रपतिबाट कैद मिनाहा पाएर २०८० जेठ १५ गते जेलमुक्त भएका थिए ।
चौधरीलाई काठमाडौँ प्रहरी परिसरको टोलीले नेपाल प्रज्ञा प्रतिष्ठानको परिसरबाटै नियन्त्रणमा लिएको हो । आज प्रज्ञा प्रतिष्ठानमा नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीबीचको एकता हुने भनिएको थियो । जसका लागि दुवै दलका नेता–कार्यकर्ता त्यहाँ उपस्थित भएका थिए ।
नाउपा संरक्षक रेशम चौधरी पक्राउ परेसँगै आजका लागि तय भएको एकता सभा रोकिएको जनमत पार्टीका प्रवक्ता शरद सिंह यादवले जानकारी दिए ।






















