साझेदारी गर्नुहोस्

प्रतिपक्षमा रहेको नेकपा एकीकृत समाजवादीका सबै सांसद जारी शिक्षक आन्दोलनमा जाने भएका छन् ।

बैशाख १४ गते सोमबारका दिन नेकपा एकीकृत समाजवादीका प्रतिनिधिसभा र राष्ट्रियसभाका सबै सांसदहरु शिक्षक आन्दोलनमा ऐक्यवद्दता जनाउन आन्दोलनस्थल, काठमाडौंको नयाँ बानेश्वर, बबरमहल क्षेत्र पुग्ने भएका हुन् ।

आइतबार पार्टीको केन्द्रीय सचिवालय बैठकले काठमाडौंमा जारी शिक्षक आन्दोलनमा ऐक्यवद्दता जनाउने निर्णय गरेपश्चात सबै सांसदहरु आन्दोलन स्थलमा पुग्ने निर्णय भएको नेकपा एकीकृत समाजवादीका प्रमुख सचेतक मेटमणी चौधरीले जानकारी दिए ।

 

चौधरीका अनुसार, पार्टी अध्यक्ष तथा संसदीय दलका नेता माधवकुमार नेपालको नेतृत्वमा सांसदहरु आन्दोलन स्थल पुग्नेछन् ।

नेकपा एसले शिक्षा ऐन तत्काल पारित गरी शिक्षकले उठाएका जायज मागलाई यथाशिघ्र वार्ता र संवादमार्फत सम्बोधन गर्न सरकारलाई आग्रह गर्दै आएको छ ।

सो पार्टीले शिक्षकको आन्दोलनप्रति ऐक्यवद्दता जनाउँदै शिक्षा क्षेत्रका जायज माग पुरा गरी सरकारसँग भएका सम्झौता कार्यान्वयन गर्न माग गर्दै आएको हो ।

शिक्षा ऐन ल्याउनुपर्ने मागसहित देशभरका शिक्षकहरु आन्दोलनमा छन् । आन्दोलनको २६ औं दिनमा प्रहरी र शिक्षकबीच झडप भएको छ ।