नेपाल चिकित्सक संघले आज (वैशाख १२ गते) देखि सम्पूर्ण निजी तथा सरकारी अस्पताल, मेडिकल कलेज, क्लिनिकमा आकस्मिकबाहेक सबै सेवा ठप्प पार्ने चेतावनी दिएको छ।
बिहीबार नै विज्ञप्ति जारी गरी चिकित्सक संघले आकस्मिक तथा सघन उपचारजस्ता अत्यावश्यकबाहेक अन्य सबै सेवामा सहभागी नहुन चिकित्सकहरूलाई आह्वान गरेको हो।
यस्तै उपत्यकाभित्रका चिकित्सक तथा स्वास्थ्यकर्मीहरू बिहान ११ बजे माइतीघर मण्डलामा भेला भई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा र उपत्यका बाहिर जिल्ला प्रशासन कार्यलयमा धर्ना दिने कार्यक्रम रहेको पनि संघले जनाएको छ।
चिकित्सकहरूले आफूहरूको श्रम शोषण भएको भन्दै बिहीबार पनि माइतीघरस्थित स्वास्थ्यमन्त्रालय अगाडि प्रदर्शन गरेका थिए।
चिकित्सा शिक्षा आयोगले तय गरेको आठौँ तह (४८ हजार रुपैयाँ मासिक) को भत्ता दिनुपर्ने उनीहरुले माग राखेका छन्। तर, निजी कलेज सञ्चालकहरु आफूहरुले त्यो दिननसक्ने अडान लिइरहेका छन्।






















