नेकपा एकीकृत समाजवादीकी नेत्री रामकुमारी झाँक्रीले शिक्षकहरूलाई काठमाडौं केन्द्रित आन्दोलन छाडेर विद्यालय फर्किन आग्रह गरेकी छिन् ।
आज सामाजिक सञ्जाल फेसबुकमार्फत कडा आलोचना गर्दै शिक्षकहरू नै समस्या समाधान गर्ने पक्षमा नरहेको आरोप लगाइन् ।
राज्यको तलब खाएका शिक्षक कर्मचारीले समितिमा दफावार छलफलमा रहेको विधेयक पास नभइ फर्कन्नौँ भन्न नमिल्ने उनको भनाइ छ।
शिक्षा ऐन जारी गर्न सरकारले प्रतिबद्धता जनाएको र विधेयक समितिमा दफावार छलफलमा रहेको उल्लेख गर्दै उनले ऐन सडकबाट पास हुने हो र ? भन्दै प्रश्न गरेकी छिन् ।
उनले लेखेकी छिन्– ‘यतिका दिन बित्यो आउने नाच्ने, गाउने जाने भएको छ । के शिक्षकलाई कसैले पनि सुनेन त भनेर चासो राखेँ । मध्यस्थकर्ता जस्तो भए पनि केही न केही काम गरौँ भन्ने लाग्यो। शिक्षक, सरकार र संसदको बीचमा समन्वय र संवाद गराउनु पर्याे भनेर धेरै कोणबाट उहाँहरूसँग कुरा पुराउने, संवाद गर्ने प्रयास पनि गरेँ। तर उहाँहरू त संवाद नै नगर्ने रे । शिक्षा ऐन अहिले पास हुनुपर्छ अन्यथा हामी विद्यालय फर्किँदैनौँ भन्नुहुन्छ। के ऐन सडकबाट पास हुने हो र ?’






















