साझेदारी गर्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले आफूले पार्टीबाट राजीनामा नदिएर सह महामन्त्री पदबाट मात्रै राजीनामा दिएको स्पष्ट पारेकी छन्।

बिहिबार बसेको केन्द्रीय कमिटी बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै श्रेष्ठले आफू सांसद र केन्द्रीय सदस्यको जिम्मेवारीमा भएको हिसाबले सह महामन्त्रीको पदमा न्यायोचित काम गर्न नसकेको भन्दै सभापतिलाई राजीनामा बुझाएको बताएकी छिन्।

उनले पार्टीमा एक व्यक्ति र एक जिम्मेवारी रहनुपर्ने कुराहरू पटकपटक आफूले बैठकहरूमा राख्दै आएको र आफूबाट नै राजीनामाको सुरुवात गरेको समेत स्पष्ट पारेकी छन्।

‘मैले सभापति रवि लामिछाने सभापति पदमा फर्किएकै दिन दुई हप्ता अगाडि नै राजीनामा पत्र बुझाएकी हुँ त्यो पत्रको सन्दर्भमा आज छलफल भएको थियो तर त्यसको राजीनामा स्वीकृतिका सन्दर्भमा निर्णय भएको छैन त्यसको अर्को प्रोसेस हुन्छ’ श्रेष्ठले भनिन, ‘हामीले नयाँ पार्टी खोल्दै गर्दा नयाँ भिजन र नयाँ सोचका साथ अगाडि जानुपर्ने हुन्छ। मैले पद ओगटे भने अर्को व्यक्तिले काम गर्ने अवसर पाउँदैन। यो कुरा पटकपटक मैले नै केन्द्रीय समिति बैठकमा राख्ने गरेको छु। सुरुवातबाटै गरेको हो। मेरो पार्टीप्रति कुनै असन्तुष्टि छैन।’