साझेदारी गर्नुहोस्

नेकपा एमाले सचिवालय बैठकमा केही दिनअघि प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डले दिएको अभिव्यक्तिबारे चर्चा चलेको छ ।

बैठक सकिएपछि यसबारे जानकारी दिँदै एमाले उपमहासचिव प्रदीप ज्ञवालीले प्रचण्डलाई सरकार बाहिर हुँदा पीडा बोध भएकाले विभिन्न अभिव्यक्ति दिएको आरोप लगाए ।

‘केही दिनदेखि प्रचण्ड जी सरकार ढल्ने कुरा गरिरहनुभएको छ । उहाँमा सरकार बाहिर रहँदाको छटपटी र पीडा बोध छ । सरकार परिवर्तन अहिले कुनै सम्भव र सान्दर्भिक छैन । सरकारको मात्र कुरा गर्नु सत्ता मोह हो । यसको पनि खण्डन गरेका छौँ,’ ज्ञवालीले भने, ‘गर्नुपर्ने काम थुप्रै छन् ।

हामीले सरकारलाई पनि बारम्बार भनेका छौँ । तर सरकार ढाल्ने र राजतन्त्रमा फर्किने कुरा सम्भव छैन । सरकारको काम प्रभावकारी हुनुपर्छ यसमा हाम्रो पनि कुनै कम्प्रमाइज छैन । हामीले पनि सरकारले प्रभावकारी ढङ्गले काम गर्नुपर्छ भनिरहेका छौँ । तर यसको अर्थ यो हैन नि सरकार ढल्दै छ ।’

ज्ञवालीले प्रचण्डमा सत्ता मोह देखिएपछि बाहिर विभिन्न कुराहरू बोल्दै हिँडेको आरोप लगाए । प्रचण्डले केही दिनअगाडि ०८२ मा ‘कांग्रेस–एमाले सरकार’ ढल्ने अभिव्यक्ति दिएका थिए ।