साझेदारी गर्नुहोस्

वृश्चिक राशि (Scorpio) तो, ना, नि, नु, ने, नो, या, यि, यु। 

राशिस्वामी: मंगल ।

कर्मक्षेत्र जागिर :
वृश्चिक राशिका लागि वि.सं. २०८२ उपलब्धिमूलक रहनेछ। राशिस्वामी मंगल वर्षारम्भकुण्डलीको भाग्य भावमा बसेका छन् । जसले भाग्यमा अभिवृद्धि गराउनसक्ने देखिन्छ। नेतृत्व क्षमतामा वृद्धि हुने देखिन्छ। आर्थिक दृष्टिले यो वर्ष मिश्रित फलदायी रहनेछ। वाणिज्य व्यापारमा उन्नति हुने देखिन्छ। जलीय वस्तुको व्यसाय विशेष लाभदायी रहनेछ। यसैगरी कस्मेटिक एवं रेशमी मुलायम वस्तुको व्यवसाय पनि उन्नत रहनेछ । श्रावणदेखि कार्तिक महिनासम्म शनि साढेसातीको पुनः वक्रीभई धनस्थानमा प्रवेश हुनेछ ।

शैक्षिक क्षेत्र:
प्रतिस्पर्धामा अग्रस्थान प्राप्त हुनेछ। मिहिनेतको उचित प्रतिफल भने मिल्नेछ। श्रवणदेखि कार्तिक महिनासम्मको समय अध्ययन अध्यापनका दृष्टिले उत्तम रहनेछ । वाक्कलाका साथै लेखन क्षेत्रमका पनि विशेष अग्रसर रहने देखिन्छ।

वैदेशिक क्षेत्र एवं यात्रा:
वैदेशिक क्षेत्रका साथै यात्राका दृष्टिले यो वर्ष फलदायी रहनेछ। निर्णय प्रक्रियामा सजग रहनु नै उचित हुनेछ। शत्रुपक्ष सबल रहने भएकाले कार्यमा व्यवधान पनि खडा गर्नसक्नेछन्। दुर्गा भगवतीको उपासनाले कार्य क्षमतामा वृद्धि हुने देखिन्छ।

स्वास्थ्य:
स्वास्थ्यका दृष्टिले यो वर्ष मिश्रित फलदायी रहनेछ । वात प्रकृतिका विकारले केही दुःख दिनसक्नेछन्। कार्तिकदेखि स्वास्थ्यमा प्रतिरोधात्मक क्षमता वृद्धि हुने देखिन्छ। शीतकार वस्तुको प्रयोगमा सजग रहनु नै उचित हुनेछ। नियमित व्यायामका साथै योगाभ्यास यो वर्ष विशेष लाभदायी रहने देखिन्छ।

पारिवारिक दृष्टिले यो वर्ष सुखद् रहनेछ। आफन्त एवं इष्टमित्रको साथ सहयोग प्राप्त हुनेछ। सन्तान सुख मिल्नेछ । प्रेमप्रणयका दृष्टिले वर्ष सबल रहनेछ । सम्बन्धमा प्रगाढता थपिने देखिन्छ । नयाँ प्रेम सम्बन्ध स्थापित गर्नेका निम्ति पनि नयाँ वर्ष सुखद् रहनेछ । प्रेम बन्धनमा रहनेका निम्ति वैवाहिक सम्बन्धका योग पनि देखिन्छन्।

राजनीतिको क्षेत्र सफल रहने देखिन्छ । नेतृत्व क्षमतामा वृद्धि हुनेछ । मित्र जनको साथ सहयोग मिल्नुका साथै पद प्रतिष्ठा प्राप्तिका योग पनि देखिन्छन्। राजनीतिमा संयमका साथै सहकार्यका भावना लाभदायी रहनेछन् ।

आध्यात्मिक चिन्तनमा मन अभिप्रेरित रहनेछ। धनकाने क्षेत्र सबल बनाउन दुर्गा भगवतीको उपासना लाभदायी रहने देखिन्छ । यसैगरी स्वास्थ्यमा सबलताका निम्ति भगवान् शिवको उपासना कल्याणकारी रहनेछ।