मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
मेष राशिका लागि यो वर्ष मध्यम समय छ। वर्षको सुरुमा बृहस्पति र केतु ग्रहको गोचर अनुकूल रहेकाले मन प्रसन्न रहनेछ भने काम गर्ने जोशजाँगर यो समयमा रहन्छ। जेठबाट बृहस्पति र केतुको गोचर परिवर्तनका कारण दाजुभाई तथा आफन्तमा विवाद बढ्ने, अध्ययन अध्यापनबाट उचित लाभ लिन नसकिने, सन्तान हुनेहरुको सन्तान सम्बन्धि चिन्ता रहने समय छ। जेठबाट एघारौं गोचरमा आउने राहुले आम्दानी वृद्धि गर्ने, नयाँ काम प्रारम्भ हुन सक्ने, व्यवसाय वृद्धि हुने समय छ। शनिको गोचर वर्षभरि नै प्रतिकूल रहने भएकाले आलस्यता बढ्ने, काममा ढिलासुस्ती हुने, झुट्टा आरोपहरु लाग्न सक्ने रहेकाले सतर्क रहनुपर्छ। यो वर्ष असार, असोज, माघ, फाल्गुन महिना शुभ रहेको छ भने साउन, मङ्सिर र चैत महिना आर्थिक तथा पारिवारिक दृष्टिले केहि प्रतिकूल रहेको छ। अन्य महिनाहरु सामान्य रहेका छन्।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
वृष राशि हुनेहरुका लागि यो वर्ष राम्रो रहनेछ। वर्षारम्भमा बृहस्पतिको गोचर केहि प्रतिकूल रहेकाले पारिवारिक असमझदारी, स्वास्थ्यमा बाधा, खर्च बढ्ने रहेपनि जेठबाट बृहस्पति र राहुको गोचर परिवर्तन हुनाले स्थिर सम्पत्ति प्राप्त हुने, आफन्तसँग रहेको मनमुटाव हट्ने, स्वास्थ्य राम्रो रहने समय छ। शनि ग्रहको एघारौँ गोचरका कारण आम्दानी बढ्ने, रोकिएका कामहरु सुचारु हुने, उद्योग, निर्माण क्षेत्र, फलाम सम्बन्धि व्यवसायबाट राम्रो फाइदा लिन सकिने समय छ। केतु ग्रहको केहि प्रतिकूल गोचरका कारण साथीभाईबाट असहयोग वा विश्वासघात, अनावश्यक यात्रा हुन सक्छ। यो वर्ष साउन, कार्तिक, फाल्गुन र चैत महिना शुभ रहेको छ। त्यस्तै वैशाख, भदौँ र पुष महिना अशुभ रहेको छ भने अन्य महिनाहरु सामान्य छन्।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
मिथुन राशिका लागि यो वर्ष सामान्य रहेको छ। जग्गाजमिनको कारोबार, वैदेशिक व्यापार, वैदेशिक रोजगारको क्षेत्र, अध्ययन अध्यापनको क्षेत्र यो वर्ष राम्रो रहन्छ। शनि ग्रहको गोचरका कारण कर्मप्राप्तिको योग बनेको भएपनि ढिलासुस्ती बाधा आदिको सामना गर्नुपर्ने हुन सक्छ। बृहस्पति, राहु र केतुको गोचर अशुभ फलदायी रहने भएकाले अनावश्यक विवादमा फस्ने, विना अर्थको काममा समय व्यतित हुन सक्ने, गैरकानुनी क्षेत्रमा रुचि बढ्न सक्ने रहेकाले सतर्क रहनुपर्छ। यो वर्ष वैशाख, भदौँ, मङ्सिर र चैत महिना शुभ रहेको छ। त्यस्तै असोज, माघ र जेठ महिना अशुभ रहेको छ भने अन्य महिना सामान्य रहेका छन्।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
कर्कट राशिका लागि यो वर्ष मिश्रित रहन सक्छ। वर्षारम्भमा बृहस्पति र केतुको गोचर अनुकूल रहेकाले धनागम बढ्ने, मानसम्मान प्राप्त हुने, विद्याको क्षेत्रमा प्रगति हुने, परिवारिक वातावरण राम्रो रहने समय छ। जेठबाट बृहस्पति र राहु-केतुको गोचर परिवर्तनका कारण मन अशान्त रहने, खर्चको मात्रा बढ्ने, पारिवारिक वा प्रेम जीवनमा अविश्वास देखा पर्ने समय छ। शनिको गोचरका कारण धर्मकर्ममा मन नजाने, छाती सम्बन्धि समस्या आउन सक्ने रहेकाले सतर्क रहनुपर्छ। यो वर्ष महिनाका दृष्टिले वैशाख, जेठ, असोज र पुष महिना शुभ रहेका छन्। त्यस्तै कार्तिक, फाल्गुन र असार महिना अशुभ रहेका छन् भने अन्य महिना सामान्य रहन सक्छन्।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
सिंह राशिका लागि यो वर्ष शुभ रहेको छ। बृहस्पति ग्रहको गोचर वर्षभरि शुभ फलदायी रहने भएकाले नयाँ कामको सुरुवात तथा व्यवसाय सुरु गर्ने समय छ। अध्ययन अध्यापनको क्षेत्र राम्रो रहनेछ भने कानुनी क्षेत्रबाट पनि उल्लेख्य प्रगति हुन सक्छ। पारिवारिक समझदारी र प्रेम जीवनमा विश्वासको वातावरण बन्नेछ। शनि तथा राहु-केतुको अशुभ गोचरका कारण काममा क्षेत्रमा अविश्वासको सामना गर्नुपर्ने, शरीरमा चोटपटक लाग्न सक्ने, नशा तथा हातखुट्टा दुख्ने समस्या हुन सक्ने, काममा ढिलासुस्तीको सामना गर्नुपर्ने हुन सक्ने भएकाले सतर्क रहनुपर्छ। यो वर्ष महिनाका दृष्टिले जेठ, असार, कार्तिक, माघ महिना शुभ रहेका छन्। साउन, मङ्सिर र चैत महिना अशुभ छन् भने अन्य महिना सामान्य रहेका छन्।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
कन्या राशिका लागि यो वर्ष समग्रमा शुभ रहेको छ। बृहस्पति र राहुको गोचरले वर्षको सुरुवातमा पारिवारिक क्षेत्र तथा स्वास्थ्यमा समस्याको सामना गर्नुपर्ने रहेपनि जेठबाट शत्रु नाश हुने, आर्थिक आर्जनका मार्ग प्रशस्त हुन सक्ने, कृषि तथा पशुपालनबाट लाभ मिल्न सक्ने समय छ। शनि र केतुको प्रतिकूल गोचरका कारण अनावश्यक काममा समय व्यतित हुने, मानसिक चिन्ता बढ्ने, साझेदारी काममा विवाद आउन सक्ने रहेकाले सतर्क रहनुपर्छ। यो वर्ष महिनाका दृष्टिले असार, साउन , मङ्सिर र फाल्गुन महिना शुभ रहेका छन्। त्यस्तै वैशाख, भदौँ, पुष महिना अशुभ छन् भने अन्य महिना सामान्य रहेका छन्।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
तुला राशिका लागि यो वर्ष शुभ फलदायी रहेको छ। बृहस्पति ग्रहको नवौँ गोचर र शनि ग्रहको छैटौँ गोचर शुभ फलदायी रहने भएकाले शैक्षिक क्षेत्रमा प्रगति हुनेछ। स्वास्थ्य समस्याबाट राहतको अनुभूति हुनुका साथै शत्रु नाश हुने समय छ। आम्दानीको मार्ग प्रशस्त हुनाले आर्थिक उन्नतिको समय छ। केतुको शुभ गोचरले अकस्मात् धन प्राप्त हुन सक्छ। पहिले सुरु गरिएका कामहरुबाट सफलता प्राप्त हुनेछ। धार्मिक तथा सामाजिक क्षेत्रबाट मानसम्मान प्राप्त हुनेछ भने पारिवारिक वातावरण राम्रो रहनेछ तर राहुको पाँचौं गोचरका कारण सन्तानको क्षेत्रबाट खर्च बढ्नुका साथै सन्तानको कारण चिन्ता बढ्न सक्छ। यो वर्ष महिनाका दृष्टिले साउन, भदौँ, पुष र चैत महिना शुभ रहेका छन्। त्यस्तै जेठ, असोज र माघ महिना अशुभ रहेका छन् भने अन्य महिना मध्यम रहेका छन्।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
वृश्चिक राशिका लागि यो वर्ष मिश्रित रहन सक्छ। वर्षारम्भमा बृहस्पतिको गोचर सातौँ स्थानमा रहने भएकाले वैवाहिक जीवनमा विश्वासको वातावरण बन्ने, साझेदारी कामबाट लाभ प्राप्त हुने, लाभदायक छोटो यात्रा हुन सक्ने समय छ। जेठबाट बृहस्पतिको गोचर परिवर्तन हुने र शनि तथा राहु-केतुको गोचर पनि प्रतिकूल रहने भएका कारण आलस्यता वृद्धि हुने, झुट्टा आरोपहरुको सामना गर्नुपर्ने, चोटपटक लाग्न सक्ने, छाती तथा पेट सम्बन्धि समस्या आउन सक्ने, काममा ढिलासुस्ती र आर्थिक हानीको सामना गर्नुपर्ने हुन सक्ने भएकाले सतर्क रहनुपर्छ। यो वर्ष महिनाका दृष्टिले वैशाख, भदौँ, असोज र माघ महिना शुभ रहेका छन्। त्यस्तै असार, कार्तिक र फाल्गुन महिना अशुभ छन् भने अन्य महिना सामान्य रहेका छन्।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
धनु राशिका लागि यो वर्ष मध्यम रहेको छ। बृहस्पति र राहुको गोचर शुभ फलदायी रहनाले व्यापार व्यवसाय तथा वैदेशिक क्षेत्रबाट राम्रो लाभ लिन सकिन्छ। अध्ययन अध्यापनमा सफलता प्राप्त हुनेछ। कामका खोजीमा रहेका व्यक्तिहरुले काम प्राप्त गर्न सक्छन् भने विवाह गर्न चाहने व्यक्तिहरुको यो समयमा विवाह हुन सक्छ। अढैया शनि तथा गोचरको शनि र केतुको अशुभ प्रभावले अकस्मात् स्वास्थ्य सम्बन्धि समस्या आउन सक्ने, छाती दुख्ने, साथीबाट विश्वासघात हुने, काममा रोकावट आउने समय रहेकाले सतर्क रहनुपर्छ। यो वर्ष महिनाका दृष्टिले जेठ, असोज, कार्तिक र फाल्गुन महिना शुभ छन्। त्यस्तै साउन, मङ्सिर र चैत महिना अशुभ छन् भने अन्य महिना मध्यम रहेका छन्।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
मकर राशिका लागि यो वर्ष मध्यम रहन सक्छ। शनिको गोचर अनुकूल रहनाले शत्रुनाश हुनेछन्। सुखको वृद्धि हुनेछ। उद्योग, होटल व्यवसाय, सरकारी काम, यातायात व्यवसाय आदिबाट लाभ मिल्नेछ। आफन्त तथा साथीभाईको सहयोग प्राप्त हुनेछ। दीर्घकालीन रोगबाट राहत मिल्नेछ। बृहस्पति तथा राहु-केतुको प्रतिकूल गोचरका कारण अध्ययन अध्यापनको क्षेत्रमा रोकावट, बोलीमा संयमता नअपनाउँदा गलत अर्थ लाग्न सक्ने, काममा विघ्नबाधाको सामना गर्नुपर्ने समय रहेकाले सतर्कता अपनाउँदा राम्रो हुन्छ। यो वर्ष महिनाका दृष्टिले असार, कार्तिक, मङ्सिर र चैत महिना शुभ रहेका छन्। त्यस्तै वैशाख, भदौँ र पुष महिना अशुभ रहेका छन् भने अन्य महिना सामान्य रहेका छन्।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
कुम्भ राशिका लागि यो वर्ष समग्रमा राम्रो रहन्छ। बृहस्पति ग्रहको गोचर शुभ रहनाले शैक्षिक तथा बौद्धिक क्षेत्रका कामहरु सफल हुनेछन्। सामाजिक क्षेत्रबाट मानसम्मान मिल्नुका साथै धार्मिक कार्यमा मन लाग्नेछ। स्वास्थ्य सम्बन्धि समस्याबाट राहत मिल्नेछ। व्यापार व्यवसाय फस्टाउनुका साथै आर्थिक प्रगति हुनेछ। शनि तथा राहु- केतुको गोचर प्रतिकूलताका कारण शरीरमा उर्जाको कमी अर्थात् आलस्यता बढ्ने, चंचलता बढ्ने, मन अस्थिर रहने, अनावश्यक विवादमा फस्ने समय रहेकाले सतर्कता अपनाउनु पर्छ। यो वर्ष महिनाका दृष्टिले वैशाख, साउन, मङ्सिर र पुष महिना शुभ रहेका छन्। त्यस्तै जेठ, असोज र माघ महिना अशुभ रहेका छन् भने अन्य महिना सामान्य रहेका छन्।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
मीन राशिका लागि यो वर्ष सामान्य छ। केतुको छैटौँ गोचर शुभ फलदायी रहनाले धनार्जन, सुख प्राप्तिको समय छ। यो वर्ष वैदेशिक क्षेत्र, कृषि कर्म, कला, साहित्य आदि क्षेत्रमा मध्यम प्रगति हुन सक्छ। अध्ययन अध्यापनको क्षेत्रमा रोकावट आएपनि त्यसको समाधान गरेर सफल हुन सक्ने समय छ। बृहस्पति शनि तथा राहु ग्रहको गोचर अशुभ रहनाले र वर्षभरि मध्य साढेसाति रहेकाले अनावश्यक यात्रा, खर्च बढ्ने, काममा ढिलासुस्ती, स्वास्थ्यमा समस्याको सामना गर्नुपर्ने समय छ। प्रेम तथा पारिवारिक जीवनमा समझदारी कायम गर्न आवश्यक छ। यो वर्ष महिनाका दृष्टिले जेठ, भदौँ, पुष र माघ महिना शुभ रहेका छन्। असार, कार्तिक र फाल्गुन महिना अशुभ रहेका छन् भने अन्य महिना सामान्य रहेका छन्।






















