साझेदारी गर्नुहोस्

चारदेशीय टी-२० आई सिरिजमा नेपालले लगातार दोस्रो जित निकालेको छ। बिहीबार बिहान कुवेतविरुद्धको खेलमा ओपनरद्वय कुशल भुर्तेल र आशिफ शेखको शानदार अर्धशतकमा नेपाल ६ विकेटले विजयी भएको हो।

कुवेतले नेपाललाई दिएको १८६ रनको लक्ष्य पछ्याउनेक्रममा विष्फोटक ब्याटिङ गरेका कुशलले २६ बलमा पाँच चौका र चार छक्काको मद्दतमा अर्धशतक पूरा गरे भने आशिफ शेखले ३४ बलमा दुई चौका र चार छक्काको मद्दतमा अर्धशतक पूरा गरेका हुन्।

कुशल ५० बलमा ६ चौका र ६ छक्काको मद्दतमा ८१ रन बनाएर आउट भए भने आशिफले ३८ बलमा चार छक्का र दुई चौकाको मद्दतमा ५३ रन बनाए।

ओपनरद्वयले पहिलो विकेटका लागि १२७ रनको साझेदारी गरे।

नेपालका लागि अलराउन्डर दीपेन्द्र सिंह ऐरीले १२ बलमा दुई चौका र तीन छक्काको मद्दतमा ३१ रन बनाए । कप्ता रोहित पौडेल ४ र गुल्सन झा ९ रनमा नटआउट रहे । ६ बलको सामना गरेका कुशल मल्ल भने चार रन बनाउँदा आउट भए । १८६ रनको लक्ष्य पछ्याएको नेपालले १८.५ ओभरमा चार विकेट गुमाएर लक्ष्य पूरा गरेको हो ।