राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थुनामा पठाउने उच्च अदालत तुलसीपुरको बुटवल इजलासले आदेशविरुद्ध सर्वोच्च अदालत जाने भएको छ ।
पार्टीले भरतपुरमा आयोजना गरेको जनयात्रा शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै उपसभापति डा.स्वर्णिम वाग्लेले आगामी सोमबार उच्च अदालतको आदेशविरुद्ध सर्वोच्च जाने सुनाएका हुन् ।
‘आजको कार्यक्रम खल्लो भएको छ यहाँ मेरो ठाउँमा रवि लामिछाने हुनुपर्ने थियो। उहाँको मुद्दालाई अस्त्रीकरण गरिएको छ। उहाँले हिरासत बस्दा ८४ दिन केके भयो सुनाउने भन्नु भएको थियो । त्यही भन्न नदिन हिजो हतकण्डा अपनाइयो,’
वाग्लेले भने, ‘अब रविजीकै सल्लाह बमोजिम अघि बढ्छौँ। पर्सि सोमबार अहिलेको यो गैरकानुनी प्रतिशोधपूर्ण देखिने जुन अभ्यास भएको छ। त्यसलाई सर्वोच्च अदालतमा लैजान्छौँ ।’
उनले रविको सांसद पद निलम्बनको विषयलाई अन्तर्राष्ट्रियकरण गर्ने पनि बताए । ‘उहाँको सांसद पद निलम्बनमा राखिएको छ ।
आज पूर्पक्षका लागि थुनामा पठाएपछि प्रतिनिधिसभाको कुनै नियमावलीलाई फेरि टेक्ने बुझिएको छ,’ उनले भने, ‘सांसद पदको मुद्दा अन्तर्राष्ट्रियकरण गर्ने गरी अघि बढ्ने प्रण गरेका छौँ।’
उनले अहिलेको सरकारको औचित्य नभएको भन्दै यसको निकास खोज्न रास्वपा तयार भएको पनि बताए ।
शुक्रबार साँझ बुटवलको सुप्रिम सहकारी ठगी र संगठित अपराधसम्बन्धी कसुरमा रास्वपाका सभापति रवि लामिछानेलाई थुनामा पठाउने आदेश भएको हो।






















