साझेदारी गर्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सभामुख देवराज घिमिरेलाई भेटेर सांसद पद निलम्बन फुकुवाका लागि आग्रह गरेका छन् ।

मंगलबार बिहान सभामुख घिमिरेलाई भेटेर सभापति लामिछानेले निलम्बन फुकुवाको माग गरेका हुन । लामिछाने सांसद पदबाट गत पुस ८ गते निलम्बनमा छन् । आफ्नो निलम्बन फुकुवाको माग गर्दै लामिछानेले सभामुखलाई भेटेको यो दोस्रो पटक हो ।
यसअघि गत माघ १८ गते पनि सभामुखलाई भेटेर सभापति लामिछानेले आफ्नो सांसद पद निलम्बन फुकुवा गरिदिन आग्रह गरेका थिए ।

मंगलबार पुनः सभामुखलाई भेटेर लामिछानेले आफ्नो सांसद पद निलम्बन फुकुवा गरिदिन आग्रह गरेका हुन् ।

गत कात्तिक २ गते सभापति लामिछाने पक्राउ परेका थिए । पछि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण अभियोगमा मुद्दा दर्ता भएपछि गत पुस ८ गते उनको सांसद पद निलम्बन भएको थियो ।
रास्वपाले लामिछानेको सांसद् पद निलम्बनमा सभामुखले विवेक नपुर्याएको टिप्पणी समेत गर्दै आएको छ ।

संसद सचिवालयले भने लामिछानेको सांसद पद निलम्बनको आधार कास्की जिल्ला प्रहरी कार्यालयको पत्रलाई देखाउँदै आएको छ ।