साझेदारी गर्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकारले जस्तोसुकै अप्ठेरो पार्ने प्रयास गरे पनि आफू त्यसका लागि तयार रहेको बताएका छन्।।

“म आउने शनिबार चितवन जाँदै छु। त्यहाँको सभामा सरकार कसरी बन्यो, कसको कारण ढल्यो, मैले हिरासतमा ८४ दिन बिताउँदा के – के भयो, सबै खुलासा गर्नेछु,” सोमबार वनस्थलीस्थित पार्टी कार्यालयमा आयोजित पहिलो केन्द्रीय समिति बैठकपछि सञ्चारकर्मीलाई सम्बोधन गर्दै उनले भने।

चितवनका जनतालाई सम्बोधन गर्दै उनले थपे, “राति राति कुन नियतले मलाई लिएर गए, म चितवनवासीलाई सुनाउन चाहन्छु। सरकारले मलाई बोल्न नदिन सक्छ, तर म झुक्दिनँ।”

उनले चितवनले आफ्ना लागि दुई पटक अश्रुग्याँस र लाठी खाएको स्मरण गर्दै त्यहाँबाटै लहर सुरु भएको दाबी गरे। “म झुकेको भए सरकार ढल्दैनथ्यो, म मन्त्री वा प्रधानमन्त्री हुन्थेँ होला, तर यिनका अगाडि शिर झुकाउँदिनँ,” उनले भने “सरकार कसरी ढल्यो, कसको हातमा हत्कडी लाग्नुपर्थ्यो, मैले चितवनमा सबै भन्नेछु।”

लामिछानेले सरकारले आफूमाथि निरन्तर दबाब सिर्जना गरेको आरोप लगाएका छन्।
उनले सरकारले आफ्नो टाउकोमाथि ‘तरबार’ राखेको बताए।