काठमाडौं महानगरभित्र एसइई दिने विद्यार्थीहरूलाई फर्कनका लागि सवारी साधन उपलब्ध नभए महानगरले सहयोग गर्ने भएको छ ।
शुक्रबार काठमाडौंका दुई ठाउँमा छुट्टाछुट्टै समूहले प्रदर्शन गर्दैछन् । त्यसले बिहान ११ बजेदेखि सवारी आवागमन प्रभावित हुने भएपछि महानगरले एसइईका विद्यार्थीलाई गन्तव्यमा पुर्याउन सहयोग गर्ने भएको हो ।
महानगरले सवारी साधन उपलब्ध नभएर गन्तव्यवमा पुग्न नसक्ने परीक्षार्थीहरूले सम्पर्क गर्न भनेर महानगर प्रहरी बलका चार जनालाई सम्पर्क व्यक्ति तोकेको छ । विद्यार्थीलाई गन्तव्यमा पुर्याउने जिम्मा नगर प्रहरी बललाई जिम्मा दिइएको छ । बानेश्वरमा नगर प्रहरी उपरीक्षक दिनेकुमार अर्याल, रत्नपार्कमा नगर प्रहरी उपरीक्षक मनोजप्रसाद लामिछाने, नयाँ बसपार्कमा नगर प्रहरी नायब उपरीक्षक पूर्णचन्द्र भट्ट र टेकु क्षेत्रमा नगर प्रहरी निरीक्षक प्रकाश पण्डित नेतृत्वको टोली खटाइएको छ ।
बानेश्वर क्षेत्रका विद्यार्थीले नगरप्रहरी उपरीक्षक कुमार अर्याललाई ९८५१०६८०९६ मा सम्पर्क गर्न सक्नेछन् । त्यस्तै रत्नपार्क क्षेत्रका विद्यार्थीहरूले नगरप्रहरी उपरीक्षक मनोज प्रसाद लामिछानेलाई ९८५१०९३१७६ मा, नयाँ बसपार्क क्षेत्रकाले नगरप्रहरी नायब उपरीक्षक पूर्णचन्द्र भट्टलाई ९८५१२३३६३३ नम्बरमा र टेकु क्षेत्रमा नगरप्रहरी निरीक्षक प्रकाश पण्डितलाई ९८५१०५६३४६ नम्बरमा सम्पर्क गर्न सक्ने महानगर प्रहरी बलले जनाएको छ ।
त्यस्तै हटलाइन सेवा ०१५९०१७६४ र ९८५१३५६५०९ नम्बरमा पनि त्यस्ता विद्यार्थीहरूले सम्पर्क गर्न सक्नेछन् ।
दुई स्थानमा हुने प्रदर्शनका लागि शुक्रबार बिहानैदेखि काठमाडौंका विभिन्न सडकमा ट्राफिक डाइभर्सन गरिएका छन् ।