साझेदारी गर्नुहोस्

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएको विषयमा धेरै हल्लाखल्ला हुन थालेको भन्दै आपत्ति जनाएका छन् ।

हिजो (सोमबार) बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई कार्यकारी निर्देशक पदबाट बर्खास्त गर्ने सरकारको निर्णयको सर्वत्र विरोध भएपछि प्रधानमन्त्री आफै प्रतिवादमा उत्रिएका हुन् ।  बालुवाटारमा कांग्रेस नेतृ सुजता कोइरालाद्वारा लिखित पुस्तक ‘म र मेरो सानोबुबा’ नामक आत्मकथाको लोकार्पण समारोहमा बोल्दै प्रधानमन्त्री ओलीले केही मानिसहरू तिललाई पहाड बनाउनेगरी लागेको टिप्पणी गरे ।

‘तिलको पहाड बनाएका छन् । पहिला–पहिला तिलका पहाड बनायो भन्थे । तिललाई नै पहाड बनाउने चलन छ । त्यसैलाई समातेर खुब हल्लाखल्ला गर्ने चलन छ,’ प्रधानमन्त्री ओलीले भने, ‘अहिले पनि केही सानो एउटा त्यान्द्रो विषय पाएका जस्तो लाग्यो केही मानिसलाई उफ्रिरहेका छन्, कुदिरहेका छन् ।’

उनले हिजैबाट केही व्यक्तिहरू वक्तव्यबाजी गर्न थालेको भन्दै त्यसलाई ‘त्यान्द्रो’ को संज्ञा दिए । ‘के पायौं के पायौं, इस्यु भेटियो भनेर हिजैदेखि वक्तव्यबाजी शुरु भएको । यही त्यान्द्रो हो । यही डोरीलाई नाग बनाउनुपर्छ भनेर कुदेका छन् । कोही के भनेर कुदेका छन् । केही अर्थ छैन,’ प्रधानमन्त्री ओलीले भने ।

उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डप्रति लक्षित गर्दै कार्यकारी निर्देशकमा रहेको व्यक्तिलाई सरुवा गरेर अवकाश प्राप्त भइसकेको व्यक्तिलाई नियुक्त गरेको होइन ? भन्दै प्रश्न पनि गरे ।