नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले अबको दुई हप्ताभित्र नतिजा आउने गरी काम गर्ने दाबी गरेका छन् ।
मंगलबार प्राधिकरणमा पदबहाली गरेसँगै पत्रकारहरूसँग कुरा गर्दै शाक्यले लोडसेडिङ हुने हल्लाको पछि नलाग्न पनि आग्रह गरे ।
ऊर्जामन्त्रीले नै राष्ट्रियसभामा गएर अब लोडसेडिङ हुँदैछ भनेर गरेको घोषणालाई उनले खण्डन गरे। ०७७ सालको उदाहरण दिँदै उनले भने,’०७७ सालमा पनि यस्तै हल्ला गरिएको थियो। त्यो वर्ष नाफा कम भयो। तर लोडसेडिङ भएन। अहिले पनि त्यस्तै हो। लोडसेडिङ हुँदैन। एक दुई हप्ताभित्र रिजल्ट दिन्छु। उद्योगमा वर्षमा एक दिनभन्दा लोडसेडिङ नहुने गरी काम गर्नेछु।’
उनले अबको चुनौती लोडसेडिङ नभएको र विश्वसनीय बिजुली वितरण भएको पनि बताए। डेडिकेटेड तथा ट्रंकलाइनको बक्यौताको विषयमा न्यायीक तबरबाट सबै आइसकेको र प्राविधिक रुपमा समाधान गर्न आफू तयार रहेको पनि दाबी गरे।
उनले आफूले बल्ल न्याय पाएको छ अनुभूति भएको पनि बताए। ’अघिल्लोपटक नियुक्ति पाउँदा ६ महिना नपुग्दै जिम्मेवारी अन्त्य गरिएको थियो। साढे तीन वर्ष न्यायका लागि अदालतको ढोका ढकढकाउँदै थिएँ। म अदालत न्यायका लागि गएको थिएँ। माघ २५ मा मेरो नियुक्तिको समय सकिएको र अब औचित्य सकियो भन्नेर त्यसै सक्काइयो,’ उनले भने, ’आज पुनः नियुक्ति हुँदा न्याय पाएँ भन्ने अनुभूति भएको छ।’
सरकारले प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई बर्खास्त गरेर मंगलबार शाक्यलाई नियुक्ति गरिएको थियो । विवादमै नियुक्ति भए पनि उनले यसलाई चुनौती भन्दा पनि अवसरकारुपमा लिएका बताएका छन् । उनले त्यसबेला नियुक्ति पाउँदा गर्न नसकेका कामहरू अब पुरा गर्ने बताए । आफ्नो ३३ वर्षको अनुभवले राम्रो गर्ने दाबी गरे । त्यस्तै उनले प्राधिकरणमा बाहिरबाट हेर्दा सबै ठिकै देखे पनि भित्र संकट रहेको जानकारी आफूले पाएको बताए।