साझेदारी गर्नुहोस्

काठमाडौँ : पूर्वराजा ज्ञानेन्द्र शाहले करिब ८ घन्टा आफैँ ड्राइभ गरेका छन्।

आइतबार बिहान मनकामना मन्दिर दर्शनपछि गोरखा पुगेर फेरि काठमाडौँ फर्कने क्रममा कुरिनटारबाट गल्छी, विदुर पुगेर टोखाको बाटो उपत्यका प्रवेश गर्दा करिब ८ घन्टा आफैँ ड्राइभ गरेका छन्।

उनलाई विभिन्न स्थानमा हजारौँको भिडले स्वागत गरेको थियो।

उनलाई खहरे, टोखालगायतका स्थानमा स्थानीयहरूले पुष्पगुच्छा सहित स्वागत गरेको स्थानीयले जानकारी दिएका छन्।

मनकामनामा करिब डेढ घण्टा बिताए

पूर्वराजा शाहले गोरखाको मनकामना मन्दिर दर्शन गरेका छन्। पूर्वराजा शाहले आइतबार मनकामना मन्दिर पुगेर पूजाअर्चना गरेका हुन्।

उनी केवलकार चढेर मनकामना पुगेका हुन्। त्यसक्रममा स्थानीयले बाजागाजासहित पूर्वराजालाई स्वागत गरेका थिए।

उनीहरूले ‘हाम्रो राजा हाम्रो देश, प्राणभन्दा प्यारो छ’लगायतका नारा लगाएका थिए।

पूर्वराजा शाहले मनकामना मन्दिर परिक्रमा गर्दै दर्शन गरेका थिए। उनले मनकामनामा करिब डेढ घण्टा बिताएका थिए।

उनले शनिबार गोरखाको गोरखनाथ मन्दिरमा पनि पूजा अर्चना गरेका थिए। त्यसक्रममा उनले आफ्ना पूर्खाको थलो गोरखा आउँदा खुशी लागेको बताएका थिए।

उपल्लोकोटमा शाहको अभिषेक

आइतबार काठमाडौँ आउनुअघि गोरखाको उपल्लोकोटमा पूर्वराजा ज्ञानेन्द्र शाहको अभिषेक गरिएको छ।

मनकामना दर्शन गरी फर्किने क्रममा पूर्वराजा शाहको अभिषेक गरिएको हो। पूर्वराजा शाहको आयु आरोग्यका लागि अभिषेक गरिएको हो।

संस्कृतिविद् जगमान गुरुङले आफ्नो सल्लाह बमोजिम ललितपुरको लगनखेल निवासी माया वैद्यको संयोजकत्वमा अन्तर्राष्ट्रिय शक्ति साधक समूहले पूर्वराजा शाहको अभिषेक गरेको बताएका छन्।